२७ बैशाख २०८१, बिहीबार

अयोग्य लडाकुलाई दिने भनेर माओवादीले आफैँ पैसा राख्न खोजेको ओलीको आरोप

kp oli

नेकपा एमालेका अध्यक्ष केपी ओलीले भ्रष्टाचार गर्ने जो कोही पनि कारबाहीको दायरामा आउनुपर्ने धारणा राखेका छन् । उनले भ्रष्टाचार काण्डमा निर्दोषलाई कसरी फसाउने ? भन्ने हिसाबले चलखेल भइरहेको आरोप लगाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले नेकपा एमालेप्रति बढी लक्षित गरी विभिन्न आधारहीन अभिव्यक्ति बाहिर आइरहेकामा आपत्ति जनाए ।

‘हाम्रै पार्टीका मानिसको नाम आएको छ, हिजो हाम्रै सरकारमा रहेका साथीहरुको नाम आएको छ, जो सुकैको नाम आओस्, यदि दोषी छ भने कारबाही हुन्छ, हामीले जबसम्म मानिस दोषी करार हुँदैन, तबसम्म दोषी रहेर अनुमान गर्न सकिन्छ, तर दोषी नै हो भनेर करार गर्न सकिँदैन । किनभने त्यसको अदालती छानबिनको प्रक्रिया बाँकी हुन्छ,’ ओलीले भने, ‘हामी हेरिरहेका छौं, कसलाई फसाउने भन्ने प्रयास पनि भइरहेको छ, कता धकेल्ने भन्ने प्रयास भइरहेको छ, पूर्वाग्रह ढंगबाट दिइने अभिव्यक्ति, आधारहीन ढंगबाट अभिव्यक्ति, एमालेका विरुद्ध निराधार प्रकाशन, अभिव्यक्ति आएका छन् ।’

यस्तै अध्यक्ष ओलीले भ्रष्टाचारविरुद्ध बोल्नेहरुको मुख थुन्ने काम भइरहेको आरोप पनि लगाए । उनले संसद्‌मा केही दिनअघि मात्रै स्वतन्त्र सांसद अमरेशकुमार सिंह बोल्न लाग्दा मुख थुन्ने काम भएको र त्यही दिन अख्तियारमा उजुरी पर्नु शंकाको विषय रहेको टिप्पणी गरे । उनले भ्रष्टाचारविरुद्ध बोल्ने विपक्षीहरुलाई धम्की दिने काम भइरहेको दाबी गरे ।

‘ताजुब त के छ भने अमरेशकुमार सिंहले संसद्‌मा सरकारको विरुद्धमा बोल्नुभयो, सरकारको विरुद्धमा बोल्दा धम्की मात्रै गएर अख्तियारमा उजुरी गयो, अमरेशकुमारलाई कारबाही गर्नुपर्छ भनेर । अस्तिकै दिन उजुरी किन गयो ? अहिले पनि विपक्षीहरुको मुख थुन्ने, भ्रष्टाचारको विरुद्धमा कोही बोले मुख थुन्ने काम भयो, यो धम्की हो, मुख थुन्ने प्रयास हो,’ बैठकमा ओलीले भने ।

ओलीले माओवादी लडाकु शिविरमा भएको आर्थिक हिनामिनाबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आायेगले खुट्टा कमाएको दाबीसमेत गरेका छन् । उनले क्यान्टोनमेन्ट काण्डबारे अख्तियारले अनुसन्धान गर्न खुट्टा नकमाउन आग्रह गरे ।

उनले बहिर्गमित लडाकुहरुलाई पैसा बाँड्ने नाममा पुन: भ्रष्टाचार गर्न लागिएको आरोप लगाए । उनले अर्थतन्त्र संकटमा रहेका बेलामा कार्यकर्तालाई पैसा बाँड्ने काम भ्रष्टाचारबाहेक अरु हुनै नसक्ने दाबी गरे ।

‘अब पछिल्लो समयमा त लडाकुलाई बाँड्ने भनिएको छ, घाइते अपांग, के-के किस्ता-किस्तामा भनिएको छ, अहिलेको सरकार दुई लाख बाँड्ने भनेको छ, अर्थतन्त्र यस्तो छ, कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्था छ, बहिर्गमित लडाकुलाई बाँड्ने भनेर एकलौटी निर्णय गरेको छ । माओवादी केन्द्र जसले सरकारको नेतृत्व गरेको छ,’ ओलीले भने, ‘उहाँहरु बलजफ्ती निर्णय गराउने र ५० हजार कार्यकर्तालाई दिने, बाँकी आफैँ लिने कामका लागि सुरु हुँदै छ, क्यान्टोनमेन्टका सवालमा त्यस्ता कुराहरु पलिा पनि धेरै भएका छन् ।’

उनले नेकपा माओवादी केन्द्रको सरकारले एकलौटी रुपमा निर्णय गरेर बहिर्गमित लडाकुको नाममा भ्रष्टाचार गर्न लागेको दाबी गरे । क्यान्टोनमेन्ट काण्डबारे अख्तियारले छानबिन गर्नुपर्ने ओलीको भनाइ छ । ‘क्यान्टोनमेन्टमा नभएका मानिसहरुका पैसा बुझिएको छ, राज्यको ढुकुटी अनुचित तरिकाबाट छलछाम गरेर खल्तीमा हाल्ने कुरा भ्रष्टाचार हो, जो सुकैले गरेको होस्, त्यसको बारेमा कोही पनि बोल्न तयार छैनन्,’ उनले भने, ‘राज्यको ढुकुटी रित्याएर अर्बौं पैसा कुम्ल्याउन मिल्छ ? यी कुराहरु भएका छन्, आज होइन, पहिलादेखि नै हो । अख्तियारले होल्ड गरेर बसेको छ, म भन्न चाहन्छु, राज्यको यत्रो अर्बौंको हिनामिनाको छानबिन गर्नुस्, खुट्टा नकमाउनुस्, किन खुट्टा कमाएर बस्नुहुन्छ । यस्ता संस्थाहरु राजनीति प्रतिशोधका अस्त्र बनाउने ?’

अध्यक्ष ओलीले अर्थतन्त्रको उदारीकरण हुनुपर्ने भए पनि कस्तो उदारीकरण भन्नेबारे स्पष्ट हुन नसकेको दाबी गरे । सरकारी सम्पत्ति निजी क्षेत्रलाई कौडीको मूल्यमा बेचेर कमिसन खानेकुरा सह्य नहुने उनले चेतावनीसमेत दिए ।