१७ बैशाख २०८१, सोमबार

यौन उत्पीडनको आरोपमा ट्रम्पलाई ५ मिलियन डलर जरिवाना

trump

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई न्यूयोर्कको एक अदालतले यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ ।

अदालतले ट्रम्पलाई दोषी ठहर गर्दै पीडितलाई क्षतिपूर्ति बापत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको छ ।

एक पत्रिकाकी लेखिका ई जिन क्यारोलले सन् १९९० मा ट्रम्पले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएका थिइन् । साथै आफ्नो बदनाम गरेको भन्दै लेखिकाले ट्रम्पमाथि मानहानीको मुद्दा हालेकी थिइन् । उक्त मुद्दामा पनि ट्रम्प दोषी ठहरिएका छन् । तर, एक डिपार्टमेन्टल स्टोरमा क्यारोलमाथि बलात्कार भएको भन्ने आरोपमा भने ट्रम्पले सफाइ पाएका छन् । उक्त बलात्कारको आरोपमा उनी दोषी नभएको अदालतले ठहर गरेको छ ।

म्यानहटनको संघीय अदालतमा दुई हप्तासम्म चलेको सुनुवाइका क्रममा ट्रम्प उपस्थित भएका थिएनन् । साथै उनले आफूमाथिको सबै आरोप अस्वीकार गर्दै आएका थिए ।

आगामी वर्ष अमेरिकाको राष्ट्रपतिका लागि चुनाव लड्ने योजनामा रहेका ट्रम्पलाई यस घटनाले ठूलो झड्का लाग्न सक्ने अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यौन दुर्व्यवहार मुद्दामा दोषी ठहरिएका ट्रम्पले मानहानी सम्बन्धमा ३० लाख र दुर्व्यवहार सम्बन्धमा २० गरी जम्मा ५० लाख अमेरिकी डलर क्षतिपूर्ति दिनु पर्ने छ ।

अदालतको फैसलापछि उनले आफ्नो सामाजिक प्लेटफर्म ट्रुथमार्फत प्रतिक्रिया जनाएका छन् । जसमा उनले आफूविरुद्ध मुद्दा हाल्ने महिला को हुन् भन्ने जानकारी नभएको उल्लेख गरेका छन् । साथै अदालतको फैसला एक अपमान भएको जनाएका छन् ।

ट्रम्पका प्रवक्तालेसमेत एक वक्तव्य जारी गर्दै यो घटना डेमोक्रेटिक पार्टीको ट्रम्पविरुद्धको अभियान भएको आरोप लगाएका छन् । उनले ट्रम्पविरुद्धको आरोप राजनीतिक रुपमा प्रेरित रहेको र फर्जी आरोप भएको उल्लेख गरेका छन् ।

अदालतले दिएको यस फैसलाविरुद्ध अपिल गर्ने ट्रम्पको टिमले जनाएको छ ।

    सम्बन्धित समाचार...