१ जेष्ठ २०८१, मंगलवार

नेतृत्वविरुद्ध मोर्चा कस्दै युवा पुस्ता

Gagan thapa and bishwoprakash sharma
फाइल फोटो

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा आन्तरिक कलह बढ्दै गएको छ । पार्टी सभापति शेरबहादुर देउवाप्रति युवा नेताहरूले मोर्चा कसेर सार्वजनिक अभिव्यक्ति दिन थालेपछि पार्टीभित्रको कलह बाहिरिन पुगेको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले पार्टीको कोषाध्यक्ष र केन्द्रीय समितिलाई पूर्णता दिन नसकेको, भ्रातृ संगठनहरू र विभाग गठन गर्न नसकेको आरोप लाग्ने गरेको छ । यसका साथै सभापति देउवाले सरकारमा पठाउने मन्त्रीका विषयमा समेत एकल निर्णय गरेको भन्दै नेताहरूले आपत्ति जनाएका हुन् ।

वर्तमान दश दलीय गठबन्धन सरकारमा कांग्रेसले पाएका नौ मन्त्रालयमा सभापति देउवाले पार्टीका उपसभापति/महामन्त्री र अर्को समूहका नेताहरूसँग छलफल नै नगरी एकलौटी मन्त्रीको नाम सिफारिस गरेको महामन्त्री गगन थापा–विश्वप्रकाश शर्मा समूहका नेताहरूले बताएका छन् । महामन्त्री थापा र शर्माले पार्टी पुनर्जागरणका लागि अब चुप बसिरहन नसक्ने सार्वजनिक रूपमा चेतावनीसमेत दिएका छन् ।

आइतबार मात्रै महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत कडा कदम नचाली नहुने अभिव्यक्ति दिईसकेका छन् । पार्टीभित्रको अनैतिक गतिले सीमा नाघेको भन्दै अब कडा कदम चाल्ने उहाँले सार्वजनिक रूपमा संकेत गरेका छन् । थापाले लेखेका छन्– ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरैपटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ । त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडेँ, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो’

वैशाख २२ मा बसेको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले समेत पार्टी सभापति देउवाविरुद्ध कडा रूपमा प्रस्तुत भएका थिए । उनले देउवाका गलत निर्णय र कामको साक्षी नबस्ने भन्दै पार्टीमा रूपान्तरण नगर्ने हो भने विद्रोह गरेरै भए पनि शुद्धीकरण अभियानमा जुट्नुपर्ने अवस्था आइसकेको बताएका थिए ।

सभापति देउवाले महाधिवेशन भएको १७ महिनासम्म पनि पार्टीका विभिन्न समितिले पूर्णता नपाएको, केन्द्रीय समितिको बैठकसमेत नबोलाएको विषयमा युवा नेताहरू एक ठाउँ भएका छन् । पार्टीका विभाग गठन, भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन, केन्द्रीय कार्यसमितिको मनोनयन, कोषाध्यक्षको नियुक्तिलगायतका अधिकार कार्यसम्पादन समितिको बैठकले सभापतिलाई प्रत्यायोजन गरेको थियो । तर, सभापति देउवाले केन्द्रीय समिति, कुनै भ्रातृ संस्था, विभागहरू गठन गर्ने कुरामा अलमल गरेको पदाधिकारीले नै आरोप लगाएका छन् । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित समाचार...