२४ बैशाख २०८१, सोमबार

आयव्यय नबुझाउने २२ दललाई कारबाही हुने

nirbachan aayog nepal

निर्वाचन आयोगमा समयसीमाभित्र ८३ वटा राजनीतिक दलले मात्रै लेखा परीक्षणसहितको आयव्ययको विवरण बुझाएका छन्। आयोगमा दर्ता भएका दलको सङ्ख्या भने ११६ छ। बाँकी ३३ मध्ये आठवटाले ढिला गरी बुझाएका छन्। २०७८र७९ मा दर्ता भएका तीनवटा दलले भने अहिले बुझाउनु पर्दैन। बाँकी २२ वटा दल आयोगको कारबाही प्रक्रियामा छन्।

यसअघि २०७८ साउनमा लेखा परीक्षण प्रतिवेदन लगातार तीन वर्षसम्म नबुझाएका र जरिवानासमेत नतिरेका ४१ दलको दर्ता खारेज भएका थिए। आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले लगातार तीन वर्षसम्म लेखा परीक्षण नगराउने र जरिवाना नतिर्ने दलको दर्ता खारेजी प्रक्रियामा जाने जनाएको छ। महाशाखाका प्रमुख एवं सहसचिव यज्ञप्रसाद भट्टराईले ऐनबमोजिम दर्ता खारेजी प्रक्रिया तीन वर्षपछि मात्रै सुरु हुने भए पनि तत्काललाई स्पष्टीकरण सोध्ने र जरिवाना गराएर लेखा परीक्षण गराउन आदेश दिइने जानकारी दिए।

लेखा परीक्षण प्रतिवेदन नबुझाएकामध्ये नेपाल राष्ट्रिय सनातन पार्टी खारेजी प्रक्रियामा गइसकेको छ। बाँकी लेखा परीक्षण प्रतिवेदन नबुझाउनेमा गान्धीवादी पार्टी नेपाल, नेपाल नौलो जनवादी पार्टी, नेपाल राष्ट्रवादी पार्टी, शिव सेना नेपाल, नेपाल दलित पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, आम आदमी पार्टी र नेपाः राष्ट्रिय पार्टीलगायत छन्। गोरखापत्र दैनिकबाट

    सम्बन्धित समाचार...