२४ बैशाख २०८१, सोमबार

प्रहरीले फेरि पठायो कोइरी फरार रहेको पत्र

Lakshmi Koiri

नेकपा (एमाले)का सांसद लक्ष्मी महतो कोइरी फरार सूचीमा रहेको जानकारी प्रहरी प्रधान कार्यालयले सङ्घीय संसद्लाई पुनः गराएको छ।

सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै प्रहरीले उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरे पनि कोइरी फरार रहेको जानकारी पठाएको हो। यसअघि पुस ७ गते पनि प्रहरीले संसद् सचिवालयलाई फरार रहेको अवस्थाबारे जानकारी पठाएको थियो।

सभामुख घिमिरेलाई सम्बोधन गरेर आइतबार पत्र पठाइएको संसद् सचिवालयले जनाएको छ। फरार अवस्थामा रहनुभएका कोइरीले संसद्मा बिदाको निवेदन पठाएपछि संसद्को पहिलो अधिवेशनको अन्तिम बैठकमा विवाद भएको थियो। विवादपछि दलहरूकै समन्वयमा प्रहरीले पुनः फरार अवस्थाबारेको जानकारी सभामुखलाई गराएको हो।

सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले प्रहरीको पत्र आएको जानकारी दिए। गिरीले भने, “प्रहरीको पत्र आइतबार नै आएको छ। अब यसबारेमा आवश्यक प्रक्रिया अघि बढ्छ।” फौजदारी मुद्दामा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरे पनि फरार रहेका कोइरीले बिदा स्वीकृतिको निवेदन संसद् सचिवालयमा पठाएपछि विवाद भएको थियो। दलहरूबाट विरोध भएपछि निवेदनबारे अर्को अधिवेशनमा निर्णय गर्ने भन्दै बिदा स्वीकृत भएको थिएन।

कोइरीले २०७९ माघ २५ देखि बिरामी परेकाले बैठकमा उपस्थित हुन नसकेको निवेदन दिएका थिए। स्वास्थ्य अवस्था ठीक भएपछि बैठकमा उपस्थित हुने जानकारी उनले गराएका थिए । गोरखापत्र दैनिकबाट

    सम्बन्धित समाचार...