५ जेष्ठ २०८१, शनिबार

निरा पाण्डेका हत्या आरोपी सार्वजनिक

arrest 1

काठमाडौं कपनस्थित सरस्वतीनगरकी निरा (निरू) पाण्डे आचार्यको हत्या आरोपमा पक्राउ परेका झापाका विनोद विश्वकर्मालाई सार्वजनिक गरिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर पाण्डेको हत्यामा संलग्न भएको दाबी गर्दै आरोपी झापा मेचीनगर–१० घर भई हाल भक्तपुरका लोकन्थलीमा बस्ने ३५ वर्षीय विनोद विश्वकर्मालाई सार्वजनिक गरेको हो ।

पाण्डेको हत्यामा विश्वकर्मा एक्लैको संलग्न रहेको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए । उनका अनुसार पाण्डेको पसलमा पुगेर विश्वकर्माले केही भाँडा रोजिसकेपछि पैसा लिएर आउँछु भनेर बाहिरिएका र पछि पुनः आएर हत्या गरेका हुन् । आरोपी विश्वकर्माले पसलमै रहेको चक्कुले प्रहार गरेर पाण्डेको हत्या गरेका प्रहरीको भनाइ छ ।

बागलुङ घर भई काठमाडौंको कपनमा किराना पसल गरी बस्ने नीराको गत वैशाख ७ गते कपन सरस्वतीनगरमा दिउँसो पौने ४ बजे पसलभित्रै छिरेर अज्ञात व्यक्तिले हत्या गरेको थियो । धारिलो हतियारबाट घाइते भएकी निरुलाई शिक्षण अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको थियो ।

प्रहरीले हत्यारालाई समात्न नसकेको भन्दै आफन्तले आन्दोलन गर्न थालेपछि आइतबार प्रहरीले झापामा पक्राउ परेका एक अभियुक्तको नाम र विवरण सार्वजनिक गरेको छ ।

ss

पक्राउ पर्ने व्यक्ति झापा घर भई भक्तपुरको लोकन्थलीमा बस्ने बाउन्सर विनोद विक छन् । उनी झापाको बिर्तामोडबाट पक्राउ परेका हुन् ।

निरुले घाँटीमा लगाएको ९८ लालको सुनको सिक्री लुट्नका लागि अपराधीले उनीमाथि आक्रमण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले घटनाको दसी प्रमाणका रुपमा सीसीटीभी फुटेजका केही दृश्यसमेत सार्वजनिक गरेको छ, जसमा अपराधीले प्रयोग गरेको झोला, जुत्ता र रगत लागेको पोसाकसमेत छन् ।

हत्यापछि सिक्री धरौटी राखेर झापा चम्पट

वैशाख ७ गते दिउँसो २ बजे निरुको पसल ‘निरु किचेन’ मा विनोद विक घाँटीमा लगाएको सुनको सिक्री लुट्ने उद्देश्यले सामान किन्ने निहुँमा प्रवेश गरे । तर, पसलमा अन्य मानिसहरु आएकाले एटीएमबाट पैसा निकालेर आउँछु भन्दै बाहिरिए ।

दिउँसो २ बजेर ४४ मिनेट हुँदा उनी फेरि पसलमा आए । समान किन्ने निहुँमा पसलभित्र छिरेर घटना गराई सुनको सिक्री र काउन्टरमा रहेको १२/१३ सय रुपैयाँसमेत लिएर पसलबाट निस्किए ।

उनी तीन बजेर २ मिनेटमा भित्री बाटोबाट रफ्तार फुटसल हुँदै गोपीकृष्ण हल नजिकै पुगेर टेम्पु चढेर बाटो लागे ।

दिउँसो ३ बजेर १५ मिनेटमा चाबहिल चोकस्थित एसी कम्प्लेक्सअगाडि ट्याम्पुबाट झरेर मोटरसाइकल चढी बाटो लागे ।

१० मिनेटपछि जडीबुटी चोकमा पुगेर अर्को मोटरसाइकल चढेर लोकन्थली आँखा अस्पतालनजिक पुगे । त्यहाँ उनले फ्रुटी किनेर खाए । साँझ ६ बजे सोही एरियामा गाउँको भाइको डेरामा पुगेर बास बसे ।

ssss

वैशाख ७ देखि ११ गतेसम्मको उनको गतिविधि प्रहरीको रेकर्डमा छैन । तर, वैशाख १२ गते उनी काठमाडौंको तारकेश्वरस्थित हिलेटोलको पाथीभरा सुनचाँदी पसलमा निरुबाट लुटेको सिक्री लिएर पुगेको तथ्य प्रहरीले फेला पार्‍यो ।

विनोदले त्यहाँ ९८ लालको सिक्री ५५ हजारमा धरौटी राखे । बिल विनोद रसाइलीका नाममा बनाइयो ।

५५ हजार रुपैयाँ लिएर उनी वैशाख १३ गते बनेपा-बर्दिबासको बाटो हुँदै झापातिर लागे ।

उमेरले ३५ वर्षीय विनोद झापाको मेचीनगर नगरपालिका वडा नम्बर १ निवासी हुन् । हाल उनको घर वडा नम्बर १० मा छ भने अस्थायी बसोबास भक्तपुर नगरपालिका १, लोकन्थलीमा रहेको प्रहरीको भनाइ छ ।

भाइब्रेन्ट क्लबमा बाउन्सरको काम गर्ने उनी शनिबार राति १० बजे उनी झापाको बिर्तामोडबाट इलामतर्फ जाने बसपार्कमा समातिएका हुन् ।

    सम्बन्धित समाचार...