५ जेष्ठ २०८१, शनिबार

इन्स्पेक्टरद्वारा अंगभंग हुने गरी प्रहरी हवल्दारमाथि कुटपिट

habaldar

मादक पदार्थ सेवन गरेको भन्दै एक प्रहरी निरीक्षकले आफू माहतहतका हवल्दारलाई चोडपटक लाग्नेगरी कुटपिट गरेका छन् । जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत इन्स्पेक्टरले प्रहरी हवल्दारलाई अंगभंग हुने गरी कुटपिट गरेका हुन्  ।

प्रहरी निरीक्षक नवीन चापागाईंको कुटपिटबाट सल्यानको शिद्धकुमाख गाउँपालिका- ३ स्थायी घर भएका ३७ वर्षीय प्रहरी हवल्दार हरि आरसीको बायाँ आँखा, नाक र मुखमा गहिरो चोट लागेको छ । चापागाईंले जिल्ला प्रहरी कार्यालय भित्रै बोलाएर आफूलाई मरणासन्न हुने गरी कुटपिट गरेको हवल्दार आरसीले बताएका छन् ।

‘कुटपिटबाट आँखा, नाक र मुखमा चोट लागेको छ । डोल्पा अस्पतालमा उपचार हुने सकेन । डाक्टरले नेपालगन्ज रिफर गर्नुभएको छ,’ आरसीले भने, ‘आज मौसम खराब भएर जहाज पनि आएन । भोलि बिहानै उपचारका लागि नेपालगन्ज जान्छु ।’

घटना शनिबार बिहान ११ बजे भएको हवल्दार आरसीको भनाइ छ । ‘मेरो ड्युटी अफ थियो । जिल्ला कारागारमा कार्यरत थिएँ । एक्कासी बोलाएर कुटपिट गर्नुभयो । ड्युटी अफ भएकै कारण मैले थोरै मदिरा सेवन गरेको थिएँ,’ उनले थपे, ‘सानो दर्जाको मन्छे हुँ । मलाई अरू ग्रेड रोक्कालगायतका अन्य विभागीय कारबाहीसमेत गर्न सकिन्थ्यो । तर, नियोजित रूपमा अगंभंग हुने गरी इन्स्पेक्टर साबले कुट्नुभयो ।’

कुटिएका प्रहरी हवलदारले आफ्नो उपचारखर्च इन्स्पेक्टर चापागाईंले बेहोर्नु पर्ने र कुटपिट गरेकोमा उनलाई कारबाही हुनुपर्ने माग राखेका छन् । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले घटना गम्भीर भएकाले छानबिन समिति गठन गरेर सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्ने बताए ।

उनले आफू एक कार्यक्रमको लागि कार्यालयभन्दा बाहिर रहेको वेला उक्त घटना घटेकाले यसबारे अनुसन्धान भइरहेको र कसैले पनि कानुन हातमा लिन नहुने प्रहरी प्रमुख बुढाथोकीले बताएका छन् ।

    सम्बन्धित समाचार...