२१ बैशाख २०८१, शुक्रबार

रवि लामिछानेले भने- सरकारलाई दिएको समर्थनमा गम्भीर समीक्षा गरेर अघि बढ्छौं

Rabi Lamichhane
फाइल फोटो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थनमा गम्भीर समीक्षा गरेर अघि बढ्ने जनाएका छन् ।

सांसदको शपथग्रहण गरेसँगै शुक्रबार सञ्चारकर्मीहरुसँग उनले वर्तमान सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको समर्थनबारे समीक्षा गर्ने जनाएका हुन् । उनले आफूहरुलाई भ्रष्टाचारको अन्त्यका लागि मतदाताहरुले मत दिएको उल्लेख गर्दै भ्रष्टाचारको अन्त्य गर्ने विषय सरकारले न्यूनतम साझा कार्यक्रमबाट हटाएकाले आफूहरुको आपत्ति रहेको प्रतिक्रिया दिए । उनले सरकारलाई दिएको समर्थनको सम्बन्धमा गम्भीर समीक्षा गरेर मात्रै अगाडि बढ्ने स्पष्ट पारे ।

‘हामीले आमनागरिकसँग भोट मागिरहँदा हाम्रो सबैभन्दा महत्त्वपूर्ण विषय र हामीलाई सबैभन्दा बढी आम नागरिकले भोट दिएको हामीलाई लागेको विषय भनेको मुलुकको भ्रष्टाचारको अन्त्यको विषय हो । जसमा हामीले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन हुनुपर्छ भनेका थियौं । त्यो नै न्यूनतम साझा कार्यक्रमबाट सरकारले हटायो । त्यसमा हाम्रो गम्भीरभन्दा पनि गम्भीर आपत्ति छ,’ लामिछानेले भने, ‘किनभने मतदाताले हामीलाई केही थान मान्छेलाई संसद्‌मा पठाएको होइन । निश्चित एजेन्डासहित एउटा म्यान्डेड दिएर पठाएको हो । जुन वाचा गरेर हामी आएका थियौं अझ निर्मम हुनुपर्ने कुरालाई भएको पनि हटाएको कुरामा हाम्रो गम्भीर आपत्ति छ । यसमा गम्भीर समीक्षा गरेर मात्रै अगाडि बढ्छौं ।’

उनले आफूहरुले मुलुकमा अस्थिरता नहोस् भन्ने चाहेको भए पनि सरकारलाई दिएको समर्थनबारे पुनःमूल्यांकन गर्नुपर्ने अवस्था रहेको जनाए । सभामुख देवराज घिमिरेले शुक्रबार चितवन २ बाट सांसदमा निर्वाचित रवि लामिछाने र रास्वपाबाटै तनहुँ १ बाट निर्वाचित स्वर्णिम वाग्लेलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए । तर बारा २ बाट उपनिर्वाचनमा विजयी उपेन्द्र यादव काठमाडौं आइनपुगेकाले उनले शपथ लिन भने पाएनन् ।

    सम्बन्धित समाचार...