१३ बैशाख २०८१, बिहीबार

प्रधानमन्त्रीलाई एमालेको चेतावनी- हामी चुप लागेर बस्दैनौं

uml party

नेकपा एमालेले पत्रकार सम्मेलन गरेर पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको छ ।

पार्टी मुख्यालय च्यासलमा शुक्रबार पत्रकार सम्मेलन गरी एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरी गरिएको आक्रमणको प्रयास र अन्य विषयवस्तुबारेमा पार्टीको आधिकारिक धारणा राखेको हो ।

एमाले उपमहासचिव विष्णु रिमालले कोशी प्रदेशमा गत १३ गतेदेखि पार्टीको विभिन्न कार्यक्रमा सहभागी हुन पुगेका अध्यक्ष ओलीलाई प्रदेश नामकरणको विषय उठाएर सत्तापक्षका कार्यकर्ताले विभिन्न स्थानमा आक्रमण गरेको आरोप लगाए ।

उपमहासचिव रिमालले भने, ‘१३ गते झापामा, १४ गते इलाम र आज १५ गते तेह्रथुममा अध्यक्षमाथि आक्रमणको प्रयास भएको छ । यसमा सत्तारुढ दलका कार्यकर्ता सहभागी भएको सूचना हामीसँग छ ।’

त्यस्तै, पार्टी सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल पनि प्रदेशको-१ को नाम कोशी राख्न सहमत भएको तर अहिले उनैले कार्यकर्ता सडकमा ल्याएको आरोप लगाए ।

सचिव भट्टराईले भने, ‘प्रधानमन्त्रीले एमालेलाई लक्षित गरी आक्रमण गर्न कार्यकर्तालाई लगाउनुभयो । मुख्यमन्त्री हिक्मत कार्कीले पार्टी अध्यक्ष ओलीसहित प्रधानमन्त्री दाहालसँग सल्लाह गरेर नै प्रदेशको नाम कोशी राखिएका हो ।’ यही परिस्थिति कायम रहे एमाले चुप नलाग्ने भट्टराईले चेतावनी दिए ।

आक्रमणमको योजना थाहा पाए पनि प्रहरी प्रशासनले बेवास्था गरेको एमालेको आरोप छ ।