३ जेष्ठ २०८१, बिहीबार

जनताका आवश्यकता र अपेक्षाअनुसार विकास हुन सकेन : प्रधानमन्त्री दाहाल

prac 1

प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको आवश्यकता र अपेक्षाअनुसार विकास गर्न नसकेको स्वीकार गरेका छन् ।

कान्तिपुर मिडिया ग्रुपले बुधबार काठमाडौंमा गरेको कान्तिपुर इकोनोमिक समिटमा प्रधानमन्त्री दाहालले राजनीतिक व्यवस्था परिवर्तन गरे पनि जनतालाई महसुस हुने गरी अवस्था परिवर्तन गर्न नसकेको जनाएका हुन् । अब समावेशी विकास र समृद्धि हासिल गर्न अवलम्बन गरेका नीति र योजनाको समीक्षा गर्न जरुरी रहेको उनको भनाइ छ । दाहालले राजनीतिक प्रणालीमा परिवर्तन गरे पनि जनतालाई महसुस हुनेगरी विकास गर्न नसकेको भन्दै समावेशी विकास र समृद्धि हासिल गर्न अवलम्बन गरेका नीति र योजनाको समीक्षा गर्न जरुरी रहेको उल्लेख गरे ।

सन् २०२६ सम्म विकासिल मुलुक र २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्न नीति र कार्यान्वयन दुवै पक्षमा गुणात्मक सुधार आवश्यक रहेको प्रधानमन्त्री दाहालले उल्लेख गरे । विकासको सामाजिक क्षेत्रमा सुधार भए पनि उत्पादन र उत्पादकत्व, औद्योगीकरण र रोजगारी सिर्जनाको क्षेत्रमा चुनौतीको सामना निकै गम्भीर रुपले गर्नु परिरहेको दाहालले बताए । उनले भने, व्यापार घाटा बढ्दो छ भने देशभित्र पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा युवा पलायन पनि बढ्दो रहेको छ ।

प्रधानमन्त्री दाहालले भूकम्प, कोभिडजस्ता विपत्तिका कारण समग्र अर्थतन्त्रमै समस्या आएको भन्दै त्यसको असर सञ्चार क्षेत्रमा पनि परेको जानकारी दिए । उनले सञ्चार क्षेत्रको विकासका लागि सेवामूलक राष्ट्रिय उद्योगका रुपमा विकास गर्ने र सरकारी विज्ञापनलाई बोर्डमार्फत वितरण गर्ने तयारी रहेको जानकारी दिए । प्रधानमन्त्री दाहालले एकीकृत मिडिया विकास कोष स्थापनाका लागि पहल भइरहेको पनि जानकारी दिए ।

प्रधानमन्त्री दाहालले अहिले हरेक कुरा अँध्यारोमात्र देख्ने प्रवृत्ति हाबी भएको गुनासो गरे । हरेक कुरामा नकारात्मक मात्र प्रचारप्रसारले राष्ट्र र जनताको मनोबललाई नै कमजोर पार्ने उनको भनाइ छ । ‘हरेक चिज अँध्यारो मात्रै देख्ने प्रवृत्ति हाबी हुने हो कि भन्ने प्रश्न खडा भएको छ,’ उनले भने, ‘सकारात्मक कुरा नदेख्ने प्रवृत्ति हाबी भएको छ । यसले राष्ट्रलाई, जनताको मनोबल, आत्मबल र विश्वासलाई कमजोर पार्ने र निकै ठूलो दुर्घटनातिर जाने खतरा हुन्छ ।’

प्रधानमन्त्री दाहालले सम्बोधनका क्रममा इमानदार प्रयास, सामूहिक संकल्प र पहल गर्दा असम्भव कुरा पनि सम्भव हुन्छ भन्ने विश्वास सबैले लिनु पर्ने उल्लेख गरे । ‘केही हुँदैन, केही सकिँदैन, सबै उस्तै हुन्, भन्ने विल्कुल अवैज्ञानिक सेन्टिमेन्टल आवेगात्मक विचार र भावना त्यागी इमानदार प्रयास, सामूहिक संकल्प र पहल गर्दा असम्भव कुरा पनि सम्भव हुन्छ भन्ने विश्वास हामी सबैले लिनु छ,’ उनले भने, ‘जनतालाई पनि त्यो विश्वास हामीले आफ्नो व्यवहारद्वारा दिलाउनु छ ।’

सञ्चारमाध्यमले पनि आलोचनात्मक तर रचनात्मक सूचना र सन्देश गरेर मात्र निराशाको स्थिति चिर्दै देशलाई विकास र समृद्धिको नयाँ बाटोमा लैजान सकिने प्रधानमन्त्री दाहालको भनाइ छ ।

    सम्बन्धित समाचार...