१६ बैशाख २०८१, आईतवार

ढल्यो एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकार

giri

लुम्बिनी प्रदेशको सरकार ढलेको छ । मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट सोमबार विश्वासको मत लिनेक्रममा पक्षमा ३३ मत र विपक्षमा ५३ मत परेसँगै उनी नेतृत्वको सरकार ढलेको हो ।

मुख्यमन्त्री गिरीले आज (सोमबार) दोस्रोपटक विश्वासको मत लिन प्रदेशसभा पुगेका थिए । यसअघि सात दलको समर्थनमा मुख्यमन्त्री बनेका गिरीलाई नेकपा माओवादी केन्द्रलगायत दलले दिएको समर्थन गत चैत १२ गते फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए ।

सरकार बनेको १०३ दिनमा मुख्यमन्त्री गिरी नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढलेको हो । पुस २७ गते गिरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

सत्ता साझेदार दलहरुले समर्थन फिर्ता लिएपछि सरकार बनेको ७४ दिनमै अल्पमतमा परेको थियो । संविधानको धारा १६८ को २ बमोजिम बनेको सरकार ढलेको हो ।

८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत चाहिन्छ । लुम्बिनीमा एमालेका २९ र राप्रपाका ४ सांसद मात्रै पक्षमा मतदान गरेका छन् ।

बाँकी नेपाली कांग्रेस २७, नेकपा माओवादी ११, नागरिक उन्मुक्ति पार्टी ४, जसपा, लोसपा, जनमत ३/३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी १/१, स्वतन्त्र १ गरी ५३ जना सांसदले विपक्षमा मतदान गरेका छन् ।

लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै विभिन्न आठ दलका ५३ सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका थिए ।

    सम्बन्धित समाचार...