२० बैशाख २०८१, बिहीबार

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिँदै

Ramchandra Paudel

राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारत लैजाने तयारी गरिएको छ ।

स्वास्थ्यमा समस्या भएपछि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका राष्ट्रपति पौडेललाई आज एयर एम्बुलेन्समार्फत थप उपचारका लागि भारत लिने तयारी गरिएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।

राष्ट्रपति पौडेललाई श्री एयरलाइन्सको विमानमार्फत बिहान ९ : ३० बजे नयाँ दिल्लीस्थित एम्स अस्पताल लगिने भएको हो ।

छातीको संक्रमण कम नभएकाले थप उपचारको लागि भारत लैजान चिकित्सकले सुझाव दिएका थिए । लामो समय औषधि सेवन गर्दा पनि राष्ट्रपति पौडेलको छातीमा संक्रमण कम नभएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

सोमबार फलोअपका लागि अस्पताल पुगेर फर्किएका पौडल फेरि छातीमा समस्या देखिएपछि मंगलबार अस्ताल भर्ना भएका हुन् । मंगलबार साँझ शिक्षण अस्पताल प्रशासनले विज्ञप्ति निकालेर राष्ट्रपतिको उपचार भइरहेको जनाएको थियो ।

यस्तै, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य स्थितिका बारेमा जानकारी लिएका छन् ।

रुसको भ्रमणमा निस्कनु अघि शिक्षण अस्पताल महराजगञ्ज पुगेर अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति पौडेलको स्वास्थ्य स्थीतिका बारेमा जानकारी लिएका हुन ।

‘त्रिभुवन विश्वबिधालय शिक्षण अस्पतालमा उपचार गराईरहनुभएका सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई बुधबार बिहान भेट गरि स्वास्थ्य अबस्थाको बारेमा जानकारी लिनुभयो साथै सम्माननीय राष्ट्रपतिज्यूलाई स्वास्थ्यलाभको कामना गर्नुभएको छ,’ अध्यक्ष तिमिल्सिनाको प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले भने, ‘सम्माननीय राष्ट्रपतिज्यूको स्वास्थ्य अबस्था हेर्दाखेरी आत्तिहाल्नु पर्ने देखिएको छैन।’ तर, राष्ट्रपति पौडेललाई थप परिक्षण र उपचारका लागि भारत लैजानु पर्ने चिकित्सकले अध्यक्ष तिमल्सिनालाई जानकारी गराएकाे शर्माले बताए ।

    सम्बन्धित समाचार...