७ बैशाख २०८१, शुक्रबार

क्वारेन्टिनमै भयो विवाह!

marriage

दाङमा एक जोडीले वडाध्यक्षको उपस्थितिमा आइतबार क्वरेन्टीनमै अन्तरजातीय विवाह गरेका छन् ।

भारतबाट आएर क्वारेन्टिनमा बसेका एक जोडीको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टिनबाटै विवाह भएको छ ।

घोराही उपमहानगरपालिका-१८ मा रहेको बेलघारी क्वरेन्टीनमा बसेका घाेराही उपमहानगरपालिका-१८ का २३ वर्षीय समीर वली र तुलसीपुर उपमहानगरपालिका-५ की २१ वर्षीया सीता चाैधरीबीच वडाध्यक्ष भरत अर्यालको उपस्थितिमा विवाह सम्पन्न भएको थियो ।

‘भारतबाट आएर क्वारेन्टिनमा बस्नु भएको थियो । माया–प्रेम र चिनजान भारतमै भएको रहेछ’ उनले भने, ‘क्वारेन्टिनमा बसेको बेलामा घर परिवारको सल्लाहमा जोडीको विवाह भयो ।’

भारतको दिल्लीबाट घर फर्केर क्वरेन्टीनमा बसेका उनीहरु मायाप्रेममा रहेकाले उनीहरुकै आग्रहमा विवाह गरिदिएको वडाध्यक्ष अर्यालले जानकारी दिए। ‘उनीहरु माया प्रेममा रहेको र घर सल्लाहमै बरपिपल साक्षी राखेर मैले सामान्य मन्त्रोच्चारण गरेर विवाह गराइदिएको हुँ’, वडाध्यक्ष अर्यालले बताए ।

आफूले पीसीआर रिपोर्ट आएपछि विवाह गर्न सुझाए पनि केटा केटी दुवैले आफ्नाे संस्कार अनुसार ९ महिनामा विवाह गर्न नमिल्ने बताएपछि जेठ ३२ गते सामान्य ढंगले विवाह गराइदिएको उनले जानकारी दिए।

उनीहरु जेठको पहिलो सातामात्रै घर फर्केर क्वरेन्टीनमा बस्दै आएका थिए । झण्डै २४ दिन क्वरेन्टीनमा अलग्गै बसेका उनीहरुको रिपोर्ट विवाह गरेको एक दिनपछि असार १ गते सोमबार आएको छ ।

त्यसै क्वरेन्टीनमा उनीहरुसँगै बसेका मध्य अन्य ४ जनाको रिपोर्ट पोजिटिभ आए पनि नवविवाहित जोडीको रिपोर्ट भने नेगेटिभ आएको छ ।

विवाह बन्धमा बाँधिएका पुरुष २३ वर्षका र महिला २१ वर्षका हुन् ।

रिपोर्ट नेगटिभ आएकाले उनीहरुलाई घरमा एक हप्तासम्म सेल्फ क्वरेन्टीनमा बस्नेगरी डिस्चार्ज गरिएको पनि वडाध्यक्ष अर्यालले बताउनु भयो । उहाँले एक हप्ता अलग्गै बसिसकेपछि मात्रै एकअर्काको सम्पर्कमा आउन दिनेगरी पठाएको जानकारी दिए ।