१७ बैशाख २०८१, सोमबार

को थिए भारतमा गोली हानी हत्या गरिएका अतिक ?

Atiq Ahmed

आइतबार गोली हानी हत्या गरिएका पूर्वसांसद अतिक अहमद तथा उनका भाइ अशरफ अहमद भारतका कुख्यात माफिया थिए ।

प्रहरी घेराबन्दीमा स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजाँदै गर्दा आइतबार भारतको प्रयागराजमा दुवै जनाको हत्या गरिएको छ । पत्रकारहरूले उनीहरूसँगको सवाल जवाफ टेलिभिजन क्यामरामा रेकर्ड गरिरहँदा ३ आक्रमणकारीले नजिकैबाट उनीहरूमाथि गोली प्रहार गरे । आक्रमणकारीहरू पत्रकारको भेषमा रहेको जनाइएको छ ।

भारतीय सञ्चारमाध्यमले टेलिभिजन क्यामरामा लाइभ रेकर्ड भएको गोली प्रहारको घटना कुनै सनसनीपूर्ण चलचित्रको दृश्य झैँ लाग्ने टिप्पणी गरेका छन् । घटना लगत्तै तीनै जना आक्रमणकारीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनीहरूको नाम लवलेश तिवारी, अरुण मौर्य र सनी सिंह रहेको जनाइएको छ ।

प्रहरीले अतिक अहमदका छोरा असद अहमद र उनका सहयोगी गुलाम मोहम्मदलाई दुई दिनअघि मात्रै मुठभेडमा मारेको थियो ।

घटनापछि उत्तर प्रदेशमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको न्यायिक छानबिनको आदेश दिनुका साथै प्रदेशका जिल्लाहरूमा ठूला भिडमाथि प्रतिबन्ध लगाएका छन् ।

पछिल्ला दुई दशकमा अतिक अहमदविरुद्ध अपहरण, हत्या, जबरजस्ती रकम असुलीका १ सयभन्दा बढी आरोपहरू प्रहरीमा दर्ता गरिएका थिए । यस वर्षको मार्चमा एउटा स्थानीय अदालतले अतिक र उनका अन्य दुई सहयोगीलाई अपहरणको आरोपमा दोषी ठहर गर्दै आजीवन कारावासको सजायसमेत सुनाएको थियो ।

सन् २००५ मा भएको बहुजन समाजवादी पार्टीका सांसद राजु पालको हत्या र सोही घटनाका प्रमुख साक्षी उमेश पालको यस वर्षको फेब्रुअरीमा भएको हत्यामा अतिक मुख्य आरोपी थिए । उमेश पाल हत्या प्रकरणमा प्रहरीले अतिक अहमद र उनका भाइ अशरफको बयान लिइरहेको थियो ।

अतिक अहमद एक पटक संघीय संसद लोकसभा र पाँच पटक उत्तर प्रदेश विधान सभामा निर्वाचित भएका थिए । स्वतन्त्र र आफ्नै दल स्थापना गर्दै अघि बढेका उनी अन्तिम पटक २००४ मा समाजवादी पार्टीबाट लोकसभा सदस्य निर्वाचित भएका थिए ।

    सम्बन्धित समाचार...