१५ बैशाख २०८१, शनिबार

मलाई समय खेर फाल्ने छुट छैन भन्ने प्रधानमन्त्रीलाई अझै ६ मन्त्रालय काँधमा बोकेर रिवन काट्न भ्याइ नभ्याइ

Pm prachanda

पुस ११ मा सपथ, पुस २६ र चैत ६ मा दुई पटक विश्वासको मत लिनुभएका प्रधानमन्त्री प्रचण्डले सात पटक मन्त्रिपरिषद् विस्तार गरिसक्नुभयो । तर अझै ६ मन्त्रालय काँधमा बोकेर प्रधानमन्त्री रिवन काट्न भ्याइ नभ्याइमा हुनुहुन्छ ।

कामबाहेक अरु केही फुर्सद नभएको बताउने प्रधानमन्त्री प्रचण्डको सरकारी निवास बालुवाटारमा मात्रै नभइ पार्टी कार्यालयमा समेत कार्यकर्तासँग घण्टौं विताउनुहुन्छ र भन्नुहुन्छ-मलाई समय खेर फाल्ने छुट छैन ।

पुस २६ मा पहिलो पटक विश्वासको मत लिंदै गर्दा प्रधानमन्त्री प्रचण्ड विकास र समृद्धिका लागि यति हतारमा हुनुहुन्थ्यो कि, मानौं विश्वासको मत लिन तोकिएको समय पनि बढी भयो । एक(एक मिनेट र घण्टा नापेर काममा दिन रात खटिने उहाँको त्यो जोश र जाँगर यतिबेला रिबन काट्ने, उद्घाटन र शिलान्याशमा परिणत भइसकेको छ ।

चैत ६ गते दोस्रो पटक विश्वासको मत लिदासम्म पुस २६ को हतारोको स्पिड निकै घटिसकेको थियो । र प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् विस्तार गर्नुभयो तर, पनि परराष्ट्र, स्वास्थ्यसहितका ६ वटा मन्त्रालयले मन्त्री पाएकै छैनन् । राजनीतिमा बोली र व्यवहार फरक हुनुपर्छ भन्ने गलत नजिरलाई प्रचण्डले फेरि एकपटक सत्य सावित गर्नुभएको छ ।

झट्ट हेर्दा फुर्सद नै नहुनेगरि त हिडेकै गरेका प्रचण्डलाई देशको चिन्ता पटकै देखिदैन । कहिले रिवन काट्न त कहिले शिलान्यासको नाममा कुदाकुद छ । आफु हतारिएपछि अरु जे सुकै गरुन् । चैत २२ गते दुई दिनको भाका राखेर मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका प्रधानमन्त्रीले दश दिन बितेको पत्तो पाउनुभएन कि ?

कानुन, न्याय तथा संसदीय मामिला, खानेपानी, परराष्ट्र, वन तथा वातावरण , युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसङ्‌ख्या गरि ६ मन्त्रालयको भारी प्रधानमन्त्रीकै काँधमा छ । दैनिक कोरोना महामारि बढीरहेको र मृत्यु समेत हुन थालिसकेको अवस्थामा स्वास्थ्य मन्त्री नहुँदा कति असहज भएको होला । संसद विजनेशविहिन छ, अँह, हाम्रा प्रधानमन्त्रीलाई कानुनमन्त्री चाहिएकै छैन, चाकडीका लागि सचिव निवासमा आइहाल्छन् ।

अन्तर्राष्ट्रिय फोरममा नेपालको अवस्थाबारे जानकारी गराउने र नेपालको आर्थिक र कुटनीतिक संकट समाधानका लागि पहल गर्ने तालुकदार मन्त्रालयमा पनि किन चाहियो मन्त्री । परराष्ट्र चलेकै छ । खानेपानी, वन र युवा तथा खेलकुद जस्ता मन्त्रालय काँधमा बोकेका प्रधानमन्त्रीलाई रिवन काट्न समय मिलेकै छ, मन्त्री मिलोस नमिलोस ।

दश दलीय गठबन्धनका साझा नेता प्रचण्डसँग फागुन १५ दरेखि ३२ दिन १६ मन्त्रालय थिए । त्यतिबेला पनि सरकारको काम कहाँ रोकिएको थियो र ? अहिले जम्मा ६ मन्त्रालय न हो । जोश, जाँगरसहित समय सदुपयोगमा अनावश्यक कार्यक्रममा दौडिएका प्रधानमन्त्रीलाई आरोप लगाइहाल्ने बेला कहाँ भएको छ र ?

आम रुपमा बुझ्दा चाँही मन्त्रीले गर्ने काम प्रधानमन्त्रीबाट हुदैन र प्रधानमन्त्रीले यो वा त्यो बाहना पारेर मन्त्रिपरिषद् अपूर्ण हुँदा बजेट कार्यान्वयन र नयाँ निर्माण प्रभावित हुने निश्चित छ । पुस १० मा कांग्रेससँग कुरा नमिलेपछि एमालेले बनाइदिएको र चैत ६ मा कांग्रेसले जोगाइदिएको कुर्ची सुरक्षीत छ भन्दै लहैदलहैमा हिड्ने प्रयास भए उहाँको तेस्रो कार्यकाल पनि पहिलो र दोस्रो भन्दा खराब हुने निश्चित छ ।