४ जेष्ठ २०८१, शुक्रबार

केही दिनदेखि काठमाडौंको वायु प्रदूषण निकै उच्च

XIRcEl1kprnorJIiFJ09

पछिल्लो केही दिनदेखि काठमाडौंको वायु प्रदूषण निकै उच्च देखिएको छ । प्रि मनसुनमा पर्याप्त वर्षा नभएका कारण काठमाडौंको वायुले स्वास्थ्यका लागि खतराको सूचक पार गरेको हो ।

वायु प्रदुषण मापन गर्ने आईक्यू एयरकाअनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानको वायुको गुणस्तर सूचकांक गत पछिल्लो एक सातादेखि एक सय पचास एक्यूआईभन्दा माथि छ । अहिले बिहान काठमाडौं उपत्यका विश्वको प्रदूषित सहरको चौथो नम्बरमा छ । काठमाडौंको एयर क्वालिटी इन्डेक्स १९१ छ । सबैभन्दा खराब वायु प्रदूषण रहेको सूचीको पहिलो नम्बरमा बंगलादेशको ढाका रहेको छ । ढाकाको एक्यूआई २२३ छ ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओका अनुसार एक्यूआई ५० सम्मको वायुलाई स्वस्थकर मानिन्छ । योभन्दा बढी एक्यूआई रहेको वातावरण मानव स्वास्थ्यका लागि घातक मानिन्छ । यदि तत्काल पानी नपरे वायु प्रदूषण अझ स्तर बढ्दै जाने अनुमान गरिएको छ ।

यसैबीच, जल तथा मौसम विज्ञान विभागले काठमाडौंमा सोमबारसम्म वायु धुम्म रहने जनाएको छ । मंगलबारदेखि मौसममा थोरै बदली आउने अनुमान छ । देशका पहाडी भू–भाग र तराई क्षेत्रमा भने आज दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ ।

आजको मौसमले गण्डकीदेखि सुदूरपश्चिमसम्म वर्षाको सम्भावना रहेकाले केही सहज हुने अपेक्षा गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थान र बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।