८ जेष्ठ २०८१, मंगलवार

‘मुकुन्द न्यौपानेको आरोप खण्डन गर्न लायक पनि छैन’

mukunda neupane

नेकपा (एकीकृत समाजवादी)ले नेता मुकुन्द न्यौपानेले पार्टी छोड्दा लगाएको आरोप खण्डन गर्न लायक पनि नभएको निष्कर्ष निकालेको छ ।

एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले न्यौपानेको नाम अभिलेखबाट हटाउने निर्णय पनि गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए । बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै खतिवडाले भने, “मुकुन्द न्यौपाने हाम्रो नेता हुनुहुन्थ्यो, उहाँ आरोपको कहीँ पनि प्रतिवाद गर्नुपर्छ भन्ने सम्झेनौं । हाम्रो अभिलेखबाट उहाँको नाम हटाउने निर्णय गरेका छौँ ।”

अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालपछि तेस्रो वरियतामा रहेका न्यौपानेले गत चैत २५ गते एकीकृत समाजवादी छोडेको घोषणा गरेका थिए । उनले एकीकृत समाजवादीलाई पिँध नभएको लोटासँग तुलना गरेका थिए । आफूले राखेको ३५ बुँदे प्रस्तावको वेवास्ता गरिएपछि पार्टी छोडेको उनको भनाइ थियो ।

एकीकृत समाजवादीका प्रवक्ता खतिवडाले भने न्यौपानेको प्रस्ताव पार्टीको हितविपरीत भएकाले छलफल नगरिएको प्रतिक्रिया दिए । “त्यो प्रस्ताव छलफल गर्न लायक थिएन,” खतिवडाले भने, “उहाँको आरोप खण्डन गर्न लायक पनि छैन।”

यससँगै एकीकृत समाजवादीले वैशाख ९ गते (२२ अप्रिल)मा पार्टी स्थापना दिवस देशव्यापी रुपमा मनाउने निर्णय गरेको छ । काठमाडौँसँगै प्रदेश र जिल्लाजिल्लामा कार्यक्रम गरिने उनले बताए।

केन्द्रीय सचिवालय बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको जनाइएको छ। यससँगै वैशाख १० गते हुने प्रतिनिधि सभाको उपनिर्वाचनका विषयमा पनि सामान्य छलफल भएको खतिवडाले बताए ।

    सम्बन्धित समाचार...