१६ बैशाख २०८१, आईतवार

निक्षेपको ब्याजदर एकल अंकमा झर्‍यो

Nepal Bankers Association

वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर एकल अंकमा झारेका छन् ।

नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले मुद्दती तथा बचत खाताको ब्याजदर वैशाखदेखि घटाउने निर्णय गरेको हो ।

१.०१ प्रतिशत बिन्दुले ब्याजदर घटाउने निर्णयसँगै बैशाखदेखि निक्षेपको ब्याजदर एकल अंकमा झर्ने छ ।

व्यक्तिगत मुद्दती खातामा वाणिज्य बैंकहरुले अधिकतम ९.९ प्रतिशतसम्म ब्याजदर दिनेछन् भने संस्थागत खातामा ७.९ प्रतिशतसम्म दिनेछन् । हाल व्यक्तिगत मुद्दतीमा ११ तथा संस्थागत मुद्दतीमा ९ प्रतिशतसम्म ब्याजदर दिँदै आएका थिए ।

साथै बैंकहरुले बचतको ब्याजदर पनि घटाउने निर्णय गरेका छन् । बैशाखदेखि बैंकहरुले साधारण बचत खातामा न्यूनतम ५.४ देखि अधिकतम् ७.४ प्रतिशतसम्म ब्याजदर दिने छन् ।

त्यस्तै कर्जाको ब्याजदर पनि बैशाखदेखि सामान्य घट्ने भएको छ । चैत मसान्तसम्मको आधार दरका आधारमा बैशाखदेखि कर्जाको ब्याजदर घट्ने संघले जनाएको छ ।

अहिले निक्षेपमा घटेको ब्याजदरको प्रभाव भने केही महिनापछि मात्रै कर्जाको ब्याजमा पर्नेछ । कर्जाको ब्याजदर भने नयाँ आधार दर गणनापछि बैंकहरुले सामायोजन गर्ने गर्छन् । निक्षेपको ब्याजदर घट्दा आधारदर पनि घट्न जान्छ ।

    सम्बन्धित समाचार...