१५ चैत्र २०८०, बिहीबार

कमाईमा चार करोडले पछि ‘कबड्डी ४’ भन्दा ‘छक्का पन्जा ४’

kabadi chhakapanja

यो बर्ष रिलिज भएका ४६ वटा नेपाली फिल्म मध्ये सर्वाधिक धेरै कमाई गर्ने फिल्म ‘कबड्डी ४’ हो । यो फिल्मले नेपाली बक्स अफिसमा मात्र २२ करोड आसपासको कमाई गरेको आँकडा निर्माताले सार्वजनिक गरेका थिए ।

तर, चलचित्र विकास बोर्डले सार्वजनिक गरेको आँकडा अनुसार, यो फिल्मले बक्स अफिसमा ७ लाख ६६ हजार टिकट विक्री गर्दै २१ करोड ३८ लाखको ग्रस कलेक्शन गरेको छ । यो नेपाली बक्स अफिसमा यो वर्षकै सर्वाधिक व्यापारको रेकर्ड हो ।

यो बर्ष रिलिज भएको फिल्म ‘छक्का पन्जा ४’ले बक्स अफिसमा ‘कबड्डी ४’को रेकर्ड तोड्छ या तोड्दै भन्ने चर्चा समेत चलिरहेको थियो । तर, बक्स अफिसमा ‘छक्का पन्जा ४’ ‘कबड्डी ४’को तुलनामा धेरै पछि रहेको देखिन्छ ।

विकास बोर्डले सार्वजनिक गरेको आँकडामा ‘छक्का पन्जा ४’को व्यापार १६ करोड ९४ लाख छ । अर्थात्, फिल्मको लाइफ टाइम व्यापार लगभग १७ करोडमा सकिने निश्चित छ । यसरी हेर्दा ‘छक्का पन्जा ४’ ‘कबड्डी ४’ भन्दा करिब साढे ४ करोडले पछि देखिएको छ ।

यो बर्ष फिल्म ‘छक्का पन्जा ४’ले दर्शकबाट मिश्रित प्रतिक्रिया पायो । जसका कारण, यसको व्यापार निर्माणपक्षले अपेक्षा गरे अनुसार भएन । निर्माता दीपकराज गिरी र उनको टिमले ‘छक्का पन्जा ४’बाट ‘कबड्डी ४’ले बनाएको व्यापारिक रेकर्ड तोडेर नम्बर १ को पोजिशन हासिल गर्ने सोच बनाएको थियो । तर, उनीहरूको यो उद्देश्य यसपटक असफल भएको छ ।

नेपाली बक्स अफिसमा यो बर्ष ‘केजीएफ २’ले सर्वाधिक कमाइको दोस्रो रेकर्ड राखेको छ । यो फिल्मले नेपाली बक्स अफिसमा १९ करोडको ग्रस व्यापार गरेको छ ।

निर्माताहरूले मिडियालाई बक्स अफिसको झुटो आँकडा सार्वजनिक गर्दै आएका छन् । तर, विकास बोर्डले सबै जसो हलमा बक्स अफिस सर्भर जडान गरेपछि भने निर्माताहरूको झुटो आँकडाको पर्दाफास हुन थालेको छ ।

    सम्बन्धित समाचार...