२० बैशाख २०८१, बिहीबार

रवि लामिछानेले २५ लाख रुपैयाँ मागेको दुर्गा प्रसाईँको आरोप

Durga Prasai
फाइल फोटो

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूसँग २५ लाख रुपैयाँ मागेको अरोप लगाएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमसँग संवाद गर्दै उनले लामिछानेले न्युज ट्वान्टी फोरमा सिधा कुरा चलाउँदा पैसा मागेको आरोप लगाएका हुन् ।

‘मसँग पहिला २५ लाख रुपैयाँ मागेको । न्युज ट्वान्टी फोरमा सिधा कुरा चलाउँदा । उहाँहरुको पैसा माग्ने टिम नै छ । उहाँले पैसा माग्ने मान्छे राखेको छ,’– उनले भने ।

रास्वपामा ढाकाकुमार श्रेष्ठमात्रै दोषी नभएको उनको दाबी छ । ढाकाकुमार श्रेष्ठले भनेको कोर टिम सबै दोषी भएको उनले बताए । ढाकाकुमार श्रेष्ठको आशय भन्दा पनि रास्वपाको आशय गलत भएको उनले बताए । नैतिकताको आधारमा रवि लामिछानेले चुनाव उठ्न नहुने उनको दाबी छ ।

‘ढाकाकुमार श्रेष्ठलाई पैसा माग्न लगाउने मान्छे को हो ? पार्टीको कोर टिम भन्नुहुन्छ उहाँले । कोर टिम भनेको हो ? उहाँहरुको अध्यक्ष र फस्ट लेडी नै हुन्छन् । सबै पार्टीको त्यही छ, राखनधरण श्रीमतीहरुले गरेका छन् । ढाकाकुमार श्रेष्ठ त पात्रमात्रै हो । के के गर्छु भनेर आएको यो पार्टी पनि त्यस्तै भएको त देखियो नि,’– उनले भने ।

राजनीतिमा उदायका सबैले जनतालाई ढाँटेको उनको दाबी छ । अब जनता ढाँटिन हुँदैन भनेर आफूले यो अडियो बाहिर ल्याएको उनले बताए । आफूले अडियो समयमै बाहिर ल्याएको उनको दाबी छ ।

‘मैले समयमा नै अडियो बाहिर ल्याएको हो । यो भन्दा अगाडि ल्याएर पनि काम थिएन । पछाडि ल्याएर पनि काम थिएन् । आजै अवस्यकता थियो, मैले आवश्यकतामा ल्याएको हो । अब आम जनताले हामी के मा भोट हाल्दैछौं भन्ने बुझ्नुपर्यो ,’– उनले भने ।