२६ बैशाख २०८१, बुधबार

प्रसाईं पार्टीको साधारण सदस्यसमेत नरहने गरी एमालेबाट निष्कासित

Durga Prasai

नेकपा एमालेले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।

व्यापारीसमेत रहेका प्रसाईंलाई शनिबार बिहान केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

२०७८ असोजमा ललितपुरमा भएको एमालेको विधान महाधिवेशनमा प्रतिनिधि हुँदै एमाले प्रवेश गरेका उनी पछिल्लो समय राजतन्त्र पुन:स्थापनाको अभियानमा लागेका छन् ।

राजतन्त्र पुन:स्थापनाको अभियान सञ्चालन गरेसँगै एमालेभित्र उनको तीव्र आलोचना हुँदै आएको थियो । गत मंसिरमा एमालेबाट उम्मेदवार बनेका उनी त्यसयता भने फरक राजनीतिक गतिविधिमा सक्रिय हुँदै आएका थिए । पार्टीको सिद्धान्त र नीतिविरुद्धको गतिविधिमा संलग्न हुँदा पनि कारबाही नभएको भन्दै एमालेकोसमेत आलोचना हुँदै आएको थियो ।

गत सोमबार झापाको काँकडभिट्टाबाट ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऔं महाअभियान’ सुरु गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहलाई अभिनन्दन गरेका थिए । उक्त कार्यक्रममा पूर्वयुवराज पारस, पूर्वअधिराजकुमारी प्रेरणा र पूर्वशाहाज्यादी सीताष्मा उपस्थित थिए।

एमालेमा प्रवेश गर्नु अघि प्रसाईं माओवादी पार्टी निकट थिए । माओवादी सशस्त्र विद्रोहको समयमा उनी ६ महिना सैनिक हिरासतमा परेका थिए । राजनीतिक शक्तिको निकट रहँदै आएका प्रसाईंको छवि विवादास्पद रहँदै आएको छ।