४ जेष्ठ २०८१, शुक्रबार

त्यो २०४६ को जनआन्दोलन सम्झाउने त्यो फोटो….

aa

नेपालमा प्रजातन्त्रका लागि तीन वटा आन्दोलन भए । शताब्दी लामो जहानियाँ राणा शासनको अन्त्यका लागि २००७ सालमा क्रान्ति भयो । राजाको समेत साथ पाएको यो आन्दोलनले नेपालमा पहिलोपटक प्रजातन्त्र स्थापना गर्यो ।

यहीबाट नेपालको राजनीति आधुनिक युगमा प्रवेश गर्यो । तर, १० वर्षपनि नवित्दै तत्कालीन राजा महेन्द्रले जनताबाट निर्वाचित सरकार अपदस्थ गरे । त्यसविरुद्ध कांग्रेस र कम्युनिष्टहरु आन्दोलनमा होमिए । त्यसको ३० वर्षपछि पुनः प्रजातन्त्र स्थापना भयो । यो आजैको मिति हो ।

२०४६ चैत २६ गते नेपालमा प्रजातन्त्र पुनर्वहाली भयो । तर, लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको उपाधि पाएको वर्तमान व्यवस्थामा नेताले मात्र होइन, नागरिकले पनि यो दिनको महत्व भुलेका छन् । कसरी भएको थियो, प्रजातन्त्रको स्थापना ?

२०१७ साल पुस १ गते जननिर्वाचित सरकार अपदस्त गर्दै तत्कालीन राजा महेन्द्रले सत्ता हत्याए । त्यसविरुद्ध कांग्रेस, कम्युनिष्ट पार्टीहरु विद्रोहमा उत्रिए । बहुदलीय व्यवस्था पुनस्र्थापित गर्न भएका पटक–पटकको आन्दोलनले मूर्तरुप लिन सकेको थिएन । २०३६ सालमा जनमत संग्रहमा पञ्चायतले नै जित्यो तर बहुदलीय व्यवस्था मान्ने दलहरुले सत्ताको दुरुपयोग गरेर धाँधली गरेको आरोप लगाए । कांग्रेस र कम्युनिष्टघटकहरु आ–आफ्नै हिसाबले आन्दोलनमा थिए ।

२०४६ साल पुस ४ गते तत्कालीन राष्ट्रिय पञ्चायतमा सदस्य रहेका वाम नेता पद्यमरत्न तुलाधरको सक्रियतामा वाम मोर्चाको भेला गरियो । त्यसमा नेकपा (मार्क्सवादी–लेनिनवादी), नेपाल मजदुर किसान पार्टी, नेकपा (चौथो महाधिवेशन), नेकपा (मार्क्सवादी), नेकपा (बर्मा), नेकपा (मानन्धर) र नेकपा (अमात्य)को संयुक्त मोर्चा घोषणा गरियो । मोर्चाको नेतृत्व सहाना प्रधानले गरिन ।

आन्दोलनलाई प्रभावकारी बनाउन कांग्रेसले पनि नेता गणेशमान सिंहको घर चाक्सीवारीमा माघ ५ गते राष्ट्रिय सम्मेलन आयोजना गर्यो । त्यस सम्मेलनमा भारतीय नेता चन्द्रशेखर र सुब्रमण्यमस्वामी पनि सहभागी थिए । यही सम्मेलनले संयुक्त जनआन्दोलन घोषणा गर्यो । बहुदलीय व्यवस्थाको पुनस्र्थापनाका लागि अन्तिम आन्दोलन गर्नेभन्दै गणेशमान सिंहलाई जनआन्दोलनको कमाण्डर तोकियो । माघ २७ गते कांग्रेस नेता कृष्णप्रसाद भट्टराई र वाममोर्चाकातर्फबाट सहाना प्रधानको संयुक्त हस्ताक्षरमा आन्दोलनको तालिका सार्वजनिक गरियो । फागुन ७ गतेबाट जनआन्दोलनको उद्घोष भयो ।

जनआन्दोलन २०४६ सालको तालिका कस्तो थियो ?
– फागुन ७ गते नेपाली कांग्रेस र वाममोर्चाले आ–आफ्ना झण्डाका साथ जुलुस प्रदर्शन गर्ने
– फागुन ८ गते नेपाल बन्द
– फागुन १४ गते देशभरी पञ्चायती व्यवस्थाको विरोधमा कालो दिवस मनाउने
– फागुन १९ गते नेपाल बन्द गर्ने तथा स्थानीय परिस्थिति अनुरूप कार्यक्रमहरू निरन्तर जारी राख्ने

यसरी आन्दोलनका कार्यक्रमहरू घोषणा भइसकेपछि आन्दोलन सहज नहोस् भनेर तत्कालीन सरकारले धरपकड थाल्यो । वाममोर्चाका अध्यक्ष सहाना प्रधान, कांग्रेस नेता महेन्द्रनारायण निधि समातिए भने गणेशमान सिंह, गिरिजाप्रसाद र कृष्णप्रसाद आ–आफ्नो निवासमा नजरबन्दमा राखिए । धरपकड जारी राखेपछि संयुक्त वाम मोर्चा र कांग्रेसले दोस्रो चरणको कार्यक्रम सार्वजनिक गर्यो ।

–फागुन २६ गते देशैभर पञ्चायतको पुतला जलाउने
– फागुन २७, २८ र २९ गते आन्दोलनका प्रचारात्मक कार्यक्रम
– फागुन ३० मा सभा तथा जुलुस प्रदर्शन
– चैत १ गते नेपाल बन्द
– चैत १० गते जन एकता दिवस
चैत ६ गते संयुक्त वाम मोर्चा तथा नेपाली कांग्रेसले तेश्रो चरणको आन्दोलनको कार्यक्रम पनि प्रकाशित गर्‍यो ।

– चैत १६ गते ब्लाकआउटको घोषणा
– चैत २२ गते शहीदको सम्झनामा शोक सभा
– चैत २७ गते नेपालको संविधान जलाउने तथा नयाँ संविधानको माग गर्ने

आन्दोलन चर्किदै जाँदा तत्कालीन राजा विरेन्द्रले चैत १९ गते मन्त्रिमण्डल पुनर्गठन गरेर बेवास्ता गरे । यस्तैमा चैत २४ गते फेरि राजाले मरिचमानसिंहको सरकार परिवर्तन गरेर लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाए । आन्दोलन झन उग्र बन्यो । अन्ततः सरकारले बाध्य भएर वार्ताका लागि आह्वान गर्‍यो ।

चैत २६ गते राति राजासँग वार्ताका लागि आन्दोलनकारीका तर्फबाट चारजना प्रतिनिधि राजदरबारमा प्रवेश गरे । चैत २६ गते राति ११ः२० मा नेपालमा बहुदलीय प्रजाताीन्त्रक व्यवस्थाको पुनर्वहाली भयो । पुनर्वहालीपछि २७ गते खुल्लामञ्चमा खुशीयाली सभा आयोजना भयो । यही आन्दोलन सफल भएको खुशीमा दुर्गा थापाको यो तस्वीर निकै चर्चित छ । २०६२÷६३ को दोस्रो जनआन्दोलन पनि चैत २४ बाटै सुरु भएको थियो । मुलुकमा गणतन्त्र स्थापना भएपछि २०४६ सालको जनआन्दोलनले पाएको उपलब्धि राजनीतिक दल, नागरिक समाज सबैले भुल्दै गएको आभाष हुन्छ ।

    सम्बन्धित समाचार...