१६ चैत्र २०८०, शुक्रबार

चेन्नाईको दोस्रो जीत

Chennai Super Kings

इन्डियन प्रिमियर लिगमा चेन्नाई सुपर किंग्सले पुनः दोस्रो खेलमा जीत हासिल गरेको छ ।

चेन्नाईले मुम्बई इन्डियन्समाथि ७ विकेटको जित निकालेको हो । चेन्नाईको जितमा अजिंक्या रहाणेले विस्फोटक इनिङस् खेले ।

मुम्बईस्थित वांखडे स्टेडियममा चेन्नाईले टस जितेर फिल्डिङ रोजेको थियो । मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनायो । कप्तान रोहित शर्मा २१ र इशान किशन ३२ रनमा आउट भए । सूर्यकुमार यादव १ रनमा पभेलियन फर्किए ।

क्यामरुन ग्रिनले १२ रन जोड्दा अर्शद खान २ रनमा मैदान बाहिरिए । तिलक बर्माले २२, टिम डेविडले ३१ र रितिक सोकिनले अविजित १८ रन बनाएपछि मुम्बईले प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो । रविन्द्र जडेजाले ३, मिचेल सान्टनर र तुसार देशपान्डेले २ – २ विकेट लिए ।

जवाफमा चेन्नाईले १८ ओभर १ बलमा मात्र ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । खराब सुरुवात गरेको चेन्नाईले ओपनर डेभोन कनवेलाई शून्यमा गुमाएको थियो । तर रितुराज गायकवाड र रहाणेले इनिङस् सम्हाले । रहाणेले २७ बलमा ६१ रनको आक्रामक ब्याटिङ गरे । उनले ७ चौका र ३ छक्का प्रहार गरे । गायकवाडले ४० रनको योगदान गरे । शिभम् दुवेले २८ रन बनाएभने अम्बाती रायडु २० रनमा अविजित रहे ।

मुम्बईको यो लगातार दोस्रो हार हो । चेन्नाईले ३ खेलबाट ४ अंक जोडेको छ ।

आईपीएलमा आज पौने चार बजे गुजरात टायटन्स र कोलकत्ता नाइट राइडर्स बीच खेल हुनेछ । साँझ पौने आठ बजे सनराइजर्स हैदराबाद र पंजाब किंग्स आमनेसामने हुनेछन् ।