३ जेष्ठ २०८१, बिहीबार

मेयर बालेन्द्र शाहको आवेगपूर्ण स्टाटस- सिंहदरबारको फोहोर उठ्दैन !

balen

शनिबार बिहानै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फेसबुकमा एउटा आवेगपूर्ण स्टाटस लेखे– ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ ।’

गत साता उपमेयरहरुको राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहालको आलोचना गरेका मेयर शाहले सिंहदरबारको फोहोर नउठाउने भन्दै ‘नेताहरुलाई सिसडोलमा डम्प गर्ने’ जस्तो अराजनीतिक अभिव्यक्ति किन दिए होलान् ? कुन घटनाले मेयर शाहलाई यस्तो उत्तेजित गरायो ? यसबारे अनेकन अनुमान लगाउन थालिएको छ ।

शुक्रबार मात्रै काठमाडौंको गैरीगाउँमा काठमाडौं महानगरले अनाधिकृत बस्ती हटाउन डोजर पठाएको थियो । स्थानीय सुकुम्बासीले सडकमा टायर बालेर नाराबाजी र अवरोध गरेपछि महानगरको डोजर फर्केको थियो ।

यसअघि पनि मेयर बालेन्द्र शाहले सुकुम्बासी बस्ती हटाउन बल प्रयोगको प्रयास गर्दै आएका थिए । यसका लागि महानगर प्रहरीबाट मात्र सम्भव नभएकाले संघीय प्रहरीले साथ दिनुपर्ने मेयरले माग राख्दै आएका थिए । रवि लामिछाने गृहमन्त्री भएका बेला यही विषयमा कुरा गर्न बालेन्द्रले रविलाई भेटेका थिए । अहिले पनि गृह मन्त्रालयले बल प्रयोगमा महानगरलाई साथ दिनुपर्ने बालेन्द्रको माग थियो । तर, शुक्रबार गृहले सहयोग नगरेपछि बालेन्द्र आक्रोसित बनेको महानगर स्रोतको भनाइ छ ।

बागमती किनाराको सुकुम्बासी बस्ती हटाउने विषयमा महानगर र सरकारका अन्य निकायबीच मतान्तर र द्वन्द्व देखिँदै आएको छ । यसअघि महानगरले डोजर पठाउँदा भिडन्त भई नगर प्रहरीसमेत घाइते बनेका थिए । गृहले सहयोग नगर्दा नगरप्रहरी घाइते बनेको र दोषीमाथि कारबाही नगरिएको मेयर बालेन्द्रले गुनासो गर्दै आएका छन् ।

उता राष्ट्रिय भूमि आयोगले भने सुकुम्बासी समस्या आफूले हेरिरहेको हुनाले अन्यत्र व्यवस्थापन नगरी बल प्रयोग गरेर हटाउन नमिल्ने तर्क गर्दै आएको छ ।

मेयर बालेन्द्र शाहले पनि सुकुम्बासी व्यवस्थापनका लागि आयोगसँगको सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । तर, आयोगले सुकुम्बासीको लगत संकलनको तयारी गरिरहकै बेला मेयर शाह डोजर चलाउने प्रयासमा छन् । यसको विरोधमा सुकुम्बासीहरुले प्रर्दशन गर्दै आएका छन् ।

अर्कोतर्फ बागमती सभ्यता एकीकृत विकास समितिले पनि नदी किनारका बस्ती हटाउनका लागि सूचना जारी गर्दै आएको छ । यसैवीच चैत १५ गते आयोजित कार्यक्रममा काठमाडौंका मेयर शाहले पहिले बागमतीलाई जोगाऔं, अनि लिपुलेक, लिम्पियाधुरा जोगाउँला’ भन्ने टिप्पणी गरेका थिए ।

सिंहदरबारको फोहोर के होला ?

मेयरले नै आजदेखि सिंहदरबारको फोहोर उठ्दैन भनेपछि अब राजधानीको फोहोर नउठ्ने हो कि भन्ने चिन्ता देखिएको छ । तर, महानगरपालिकाका कर्मचारी भने बालेन्द्रको फेसबुक स्टाटस व्यक्तिगत भएको बताउँछन् ।

काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले मेयर शाहको फेसबुक स्टाटसप्रति अनविज्ञता प्रकट गरे । उनले यस विषयमा आफूले बोल्न नमिल्ने भन्दै थप प्रतिक्रिया दिन मानेनन् ।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले मेयर शाहको स्टाटसले देखिने फोहोरभन्दा पनि नदेखिने फोहोर प्रति इंगित गरेको हुन सक्ने प्रतिक्रिया दिए । उनले नियमित रुपमा फोहोर उठिरहेको जानकारी दिँदै फोहोर उठ्दैन भनेर मेयर शाहले किन फेसबुकमा लेखे, त्यसबारे जानकार नभएको जनाए ।

‘त्यो मेयर साबको व्यक्तिगत कुरा होला । फोहोर नियमित उठिरहेको छ,’ उनले थपे, ‘मेरो विचारमा उहाँले देखिने फोहोरभन्दा पनि नदेखिने फोहोरको कुरा गर्नु भएको होला ।’

प्रवक्ता मानन्धरले महानगरको सुकुम्बासी बस्ती हटाउने अभियानमा सरकारबाट भइरहेको असहयोगप्रति मेयर शाहले असन्तुष्टि जनाएको हुन सक्ने संकेत गर्दै भने, ‘सरकारबाट भइरहेको असहयोगप्रति उहाँले असन्तुष्टि जनाउनुभएको हुन सक्छ ।’