१४ बैशाख २०८१, शुक्रबार

नेपाल प्रहरीका ३६ एसपीको सरुवा (सूचीसहित)

NEPAL POLICE

नेपाल प्रहरीका आइजीपी ठाकुर प्रसाद ज्ञवाली यसै महिना सेवानिवृत्त हुँदैछन् । उनी घर जाँदै गर्दा धमाधम सरुवा र बढुवामा सक्रिय भएका छन् ।

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ३६ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । सोमबार प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले असार महिनाको तलब भत्ता खानेगरि एसपीको सरुवा गरेका हुन् ।

देश कोरोना भाइरसको रोकथाममा केन्द्रित हुँदा आइजीपी ज्ञवालीले सरुवा बढुवामा चासो बढाएका छन् । उनले ३६ एसपीको सरुवा निकाल्न लगाएका छन् ।

सरुवा सूची अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीमा महानगरीय ट्राफिक महाशाखाका एसपी जीवन श्रेष्ठलाई पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा अरुण पौडेल पठाइएका छन् । त्यहाँ रहेका बिनोद सिलवाल प्रदेश प्रहरी कार्यालय गण्डकी, पोखरामा सरुवा गरिएका छन् । जिल्ला प्रहरी कार्यालय सिरहामा उमाशंकर पन्जियारलाई खटाइएको छ ।

बाँकेमा ओमबहादुर राना, धनकुटामा गोबिन्द अधिकारी, डोटीमा जनकराज पाण्डेय, कास्कीमा जीवनकुमार श्रेष्ठ, महोत्तरीमा टिकाबहादुर केसी, भक्तपुरमा तारादेवी थापा खटाइएका छन् ।

यस्तै मोरङमा सन्तोष खड्का, कपिलवस्तुमा नवराज अधिकारी, इलाममा नविनराज राई, भक्तपुरमा तारादेवी थापा, बाँकेमा ओम बहादुर राना र तनहुँमा अरुण पौडेलको सरुवा भएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय पाल्पामा दिपक खरेलको सरुवा भएको छ । यसअघि खरेल सशस्त्र प्रहरी गण नम्बर १ प्रहरी मुख्यालय नक्सालमा कार्यरत थिए ।

एक एसएसपी सहित चार एसपीको बढुवा

नेपाल प्रहरीको प्राविधिकतर्फका एक प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) र चार प्रहरी उपरीक्षक (एसपी) को बढुवा सिफारिस भएको छ ।

गृह मन्त्रालायले एसएसपी डा. सुन्दर प्रसाद ह्योजुलाई प्रहरी नायब महानिरक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको हो ।

यस्तै एसपी डा. दामोदर पौडेल, डा. संजिता दाहाल घिमिरे, डा. मनोज कुमार यादव र कुशल रानाभाट एसएसपीमा बढुवा सिफारिस भएका हुन् ।

प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह प्रदान

नेपाल प्रहरीमा नायब निरीक्षकबाट निरीक्षकमा हालै बढुवा भएकाहरुलाई सोमबार दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले बढुवा भएका ७३ जनामध्ये ४१ जना प्रहरी निरीक्षकहरुलाई प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

नेपाल सरकार, गृह मन्त्रालय सचिवस्तरको जेठ ३२ गतेको निर्णयअनुसार उनीहरु बढुवा भएका हुन्। ज्ञवालीले बढुवा भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै सांगठनिक जिम्मेवारी थपिएकोले संगठनको उद्देश्य पूरा गर्न आफ्नो ज्ञान, सीप, अनुभव तथा कार्यदक्षता प्रदर्शन गर्न निर्देशन दिए।

देश र जनताप्रतिको कर्तव्य बोधमा कहिल्यै पनि विचलित नभई आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले जस्तोसुकै चुनौति एवम् विषम परिस्थितिमा पनि राज्यले सुम्पिएको जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए।

बढुवा भएकाहरूको तर्फबाट मन्तव्य राख्दै गणेश राज उप्रेतीले संगठनले अंगिकार गरेको नीति अनुरुप दृढ, व्यवसायिक एवम् कुशलतापूर्वक प्राप्त जिम्मेवारीलाई पूरा गर्ने प्रतिवद्धता जनाए।

बढुवा भएकामध्ये दुई जना संयुक्त राष्ट्रसंघीय मिसनमा तथा ३० जना उपत्यका बाहिर कार्यरत रहेकोले सम्बन्धित कार्यालयमा दर्ज्यानी चिन्ह प्रदान गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।