३० बैशाख २०८१, आईतवार

ट्रम्पविरुद्ध फौजदारी अभियोगमा मुद्दा चलाइने

trump

अमेरिकी पूर्वराष्ट्रपति डनल्ड ट्रम्पमाथि अश्लील चलचित्रकी एक जना पूर्व नायिकालाई आफूसँगको अनैतिक सम्बन्धबारे मुख नखोल्न रकम दिएको अभियोगमा मुद्दा चलाइने भएको छ ।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचन अघि ट्रम्पका कानुन व्यवसायीले पोर्नस्टार स्टोर्मी डेनियल्सलाई ठूलो रकम तिरेका थिए । स्टोर्मी डेनियल्सले ट्रम्पले आफुसँग अवैध यौन सम्बन्ध राखेको आरोप लगाउँदै आएकी छन् ।

म्यानहटन जिल्लाका डेमोक्र्याटिक सरकारी अभियोजनकर्ताले पछिल्लो एक वर्षदेखि यस विषयमा अनुसन्धान गर्दै आएका थिए । म्यानहटन जुरीले सोमबार ट्रम्पविरुद्ध फौजदारी अभियोगमा मुद्दा चलाउन अनुमति दिएको हो । ट्रम्प फौजदारी अपराधमा मुद्दा चलाइने ट्रम्प पहिलो अमेरिकी पूर्वराष्ट्रपति बन्न पुगेका छन् ।

ट्रम्पले भने एक विज्ञप्ति निकाल्दै आफू पूर्णतया निर्दोष रहेको बताएका छन् । विज्ञप्तिमा उनले यसलाई राजनीतिक उत्पीडन र निर्वाचनमा गरिएको इतिहासकै उच्चतम् हस्तक्षेप भनेका छन् । ट्रम्पले आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन् ।

यसैबीच ट्रम्पले आगामी मंगलबार अदालतसमक्ष आफूलाई आत्मसमर्पण गर्न सक्ने जनाइएको छ ।

यही मार्च १८ मै ट्रम्पले आफूलाई गिरफ्तार गर्न खोजिएको बताएका थिए ।

    सम्बन्धित समाचार...