कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को प्लेअफमा प्रवेश गरेको छ । मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गर्दै कोलकाता यस सिजनको प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो ।
योसँगै कोलकाता आठौं पटक यस लिगको प्लेअफमा प्रवेश गर्न सफल भयो । वर्षाका कारण यो खेल १६-१६ ओभरको खेलाइएको थियो । घरेलु मैदान इडेन गार्डेन स्टेडियममा मुम्बईले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको थियो । सुरुवातमा ब्याटिङ गरेको कोलकाताले १६ ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।
कोलकाताका लागि वेंकटेश ऐयरले सर्वाधिक ४२ रन बनाए । नितिश रमनाले ३३, आन्द्रे रसेलले २४ तथा रिन्कु सिंहले २० रनको योगदान दिए । मुम्बईका जस्पृत बुम्राह र पियुस चावलाले २-२ विकेट लिए । जवाफमा मुम्बईले १६ ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन मात्र बनाउन सक्यो । मुम्बईका ओपनर इशन किसनले सर्वाधिक ४० रन बनाए । तिलक वर्माले ३२, रोहित शर्माले १९ र नमन धिरले १७ रन जोडे ।
कोलकाताका हर्षित राना, वरुण चक्रवर्ती र आन्द्रे रसेलले समान २-२ विकेट लिए । वरुण चक्रवर्ती प्लेयर अफ दि म्याच घोषित भए । योसँगै कोलकत्ताले यस सिजनका दुबै खेलमा मुम्बईलाई पराजित गर्यो ।
जितसँगै शीर्ष स्थानमा रहेको कोलकाताको १२ खेलमा १८ अंक जोडेको छ । लिगबाट बाहिरिसेको मुम्बईले १३ खेलमा ८ अंक जोडेको छ । आईपीएलमा आज दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा चेन्नाई सुपर किंग्स र राजस्थान रोयल तथा दोस्रो खेलमा रोयल च्यालेनजर्स बैंगलुरु र दिल्ली क्यापिटल्स भिड्ने छन् ।