१६ बैशाख २०८१, आईतवार

युरोकप छनोट: नेदरल्यान्ड्स र स्विडेनको पहिलो जित

Netherlands

युरोकप छनोटमा नेदरल्यान्ड्सले पहिलो जित हात पारेको छ । गएराति भएको खेलमा डच टिमले जिब्राल्टारलाई ३ – ० गोलले हराएको हो ।

आफ्नो पहिलो खेलमा फ्रान्ससँग ४ – ० गोलको फराकिलो हार बेहोरेको नेदरल्यान्ड्सले घरेलु मैदानमा उत्कृष्ट पुनरागमन गरेको हो । २३ औँ मिनेटमा माम्फिस डिपायको गोलमार्फत नेदरल्यान्ड्सले अग्रता बनाएको थियो । ५० औँ मिनेटमा नाथन आकेले टिमका लागि दोस्रो गोल थपे । त्यसको एक मिनेटपछि जिब्राल्टार दश खेलाडीमा झर्‍यो । म्याट विफर्सलाई खराब ट्याकल गरेपछि लियाम वाल्कर सिँधै रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।

८२ औँ मिनेटमा आकेले नै पुन: गोल गरेपछि रोनाल्ड कोमनको प्रशिक्षणमा नेदरल्यान्ड्सले पहिलो जित हात पार्‍यो । पुरै खेलमाथि दबाब बनाएको नेदल्यान्ड्सले कुल ५१ प्रहार गर्दा ८६ प्रतिशत बल पोजिसन राखेको थियो ।

यस्तै स्विडेनले अजरबैजानलाई ५ – ० गोलले पराजित गर्‍यो । ३८ औँ मिनेटमा एमिल फसबर्गले घरेलु टोलीका लागि पहिलो गोल गरेका थिए । ६५ औँ मिनेटमा बाहलुल मुस्तफाजादाले आत्मघाती गोल गरे । ६९ औँ मिनेटमा भिक्टरले अजरबैजानसँगको दूरी ३ – ० मा पुर्‍याए । ८८ औँ मिनेटमा सब्सिच्युट यस्पर क्लासर्न र ८९ औँ मिनेटमा एन्थोनी एलान्गाले गोल गरेका थिए । समूह एफमा रहेको स्विडेन पहिलो खेलमा बेल्जियमसँग पराजित भएको थियो ।

यसै समूहको अस्ट्रियाले इस्टोनियालाई २ – १ ले हरायो । पोल्यान्डले अल्बानियालाई १ – ० गोलले पराजित गरेको छ । पोल्यान्डको जितमा ४१ औँ मिनेटमा कारोल स्विडेस्कीले गोल गरेका थिए ।

    सम्बन्धित समाचार...