१५ चैत्र २०८०, बिहीबार

प्रदर्शन चर्कियो इजरायलमा, सङ्कटमा नेतन्याहु सरकार

65092039 605

इजरायलमा विवादास्पद न्यायपालिका सुधार योजनाको विरोधमा व्यापक जनप्रदर्शन र हडतालको आह्वान भएपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको चरम दक्षिणपन्थी गठबन्धन सरकार सङ्कटमा परेको छ ।

प्रधानमन्त्री नेतन्याहुमाथि सो योजना फिर्ता लिन दबाब बढ्दै गएको छ । राष्ट्रपति आइज्याक हर्जोगले समेत उक्त योजना स्थगित गर्न सत्तारुढ गठबन्धन र प्रधानमन्त्री नेतन्याहुलाई आग्रह गरेका छन् । उक्त योजनाको विरोधमा देशकै ठुलो मजदुर सङ्गठनले आज आह्वान गरेको आम हडतालका कारण जनजीवन अस्तव्यस्त भएको छ ।

देशका विभिन्न क्षेत्रका मजदुरहरूले हडतालमा सहभागिता जनाएका छन् भने यातायात, विश्वविद्यालय, रेस्टुरेन्ट र पसल हडतालको समर्थनमा बन्द गरिएका छन् । इजरायलको मुख्य विमानस्थलबाट हुने उडान स्थगित गरिएका छन् । यसैबीच मजदुर सङ्गठनले विश्वभरका इजरायली दूतावास तथा महावाणिज्य दूतावासका कर्मचारीलाई हडतालमा सहभागिता जनाउन निर्देशन दिएको रोयटर्सले जनाएको छ ।

नेपालस्थित इजरायली दूतावासको वेब पेजमा समेत अन स्ट्राइक अर्थात् हडतालमा भन्ने शब्द लेखिएको बीबीसीले उल्लेख गरेको छ तर पछि सो शब्द हटाइएको थियो । भारतस्थित इजरायली दूतावासले पनि राजदूतसहित हडतालमा सहभागिता जनाएको भारतीय स‌ंचारमाध्यमले जनाएका छन् ।

यसअघि प्रधानमन्त्री नेतन्याहुले उक्त योजनाको विरोधमा वक्तव्य दिएको भन्दै रक्षामन्त्री योआभ गालान्टलाई पदमुक्त गरेपछि हिजो तेलअभिभ र जेरुसेलममा व्यापक विरोध प्रदर्शन भएको थियो । न्यायपालिका सुधार योजनाविरुद्ध एक महिनादेखि प्रदर्शन हुँदै आएका छन् ।

उक्त योजना पारित भएको अवस्थामा न्यायाधीशको नियुक्तिमा सरकारको नियन्त्रण हुनेछ भने संसद्ले सामान्य बहुमतबाटै सर्वोच्चको फैसला उल्टाउन सक्नेछ । विपक्षीहरूले सरकारको यो योजनाले देशको लोकतान्त्रिक प्रणालीको आधारशिला नै जोखिममा पर्ने बताउँदै आएका छन् ।

अमेरिका र जर्मनीले पनि सरकारको योजनाप्रति चिन्ता व्यक्त गरेका छन् ।