११ बैशाख २०८१, मंगलवार

भारतका रक्षामन्त्रीले भने– “लिपुलेक सडक भारतीय भूमिमै बनेको हो, नेपालसँग वार्ता हुन्छ”

rajnath singh

भारतीय रक्षा मन्त्री राजनाथ सिंहले नेपालसँगको सम्बन्धलाई लिएर फेरि एक पटक अभिव्यक्ति दिएका छन् । राजनाथ सिंहले लिपुलेक पास सडक भारतीय भूमिमै बनेको दोहोर्याएका छन् ।

राजनाथ सिंहले नेपालसँगको सीमा विवाद वार्ताका माध्यमबाट समाधान गरिने बताएका छन्। उत्तराखण्डका भाजपका कार्यकर्तासँग संवादका क्रममा सिंहले नेपालसँगको सीमा विवाद वार्ताका माध्यमबाट हल गरिने बताएका हुन्।

रक्षामन्त्री सिंहले गत वैशाख २६ गते भारतको उत्तराखण्डको पिथौरागढदेखि नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोवर जाने सडक उद्घाटन गरेको थियो ।

यस्तै नेपाल-भारतबीचको सीमाविवादको समाधान वार्ताबाटै हुने पनि रक्षामन्त्री सिंहले बताएका छन् ।

जनसंवादलाई भिडिओ कन्फ्रेन्समार्फत सम्बोधन गर्दै सिंहले धार्चुला-लिपुलेक सडकले मानसरोवर जाने यात्रीलाई सजिलो हुने बताए ।

उनले भने, ‘पहिला श्रद्धालुलाई‌ मानसरोवर जानको लागि नाथुल पास मार्ग भएर जानुपर्ने अवस्था थियो । यो लामो बाटो थियो तर अब सीमा सडक सङ्गठनले लिपुलेकसम्म एक लिङ्क मार्ग बनाएको छ ।’

रक्षामन्त्री सिंहले नेपाल र भारतको बीचमा रोटी-बेटीको सम्बन्ध रहेको भन्दै यसलाई कसैले तोड्न नसक्ने पनि बताएका छन् । भारतीय जनता पार्टीका उत्तराखण्डका कार्यकर्तालाई ‘जन संवाद’ कार्यक्रम अन्तर्गत सम्बोधन गर्ने क्रममा सिंहले यस्तो बताएका हुन् ।

लिपुलेकबाट धार्चुला जोड्ने सडकका विषयमा नेपालमा केही गलत बुझाई भए पनि त्यसलाई वार्ताबाटै हल गरिने पनि उनको भनाइ थियो ।

भारतीयको मनमा नेपालको विषयमा कहिल्यै पनि कुनै प्रकारको कटुता पैदा हुन नसक्ने भन्दै सिंहले सबै समस्याको समाधान वार्ता र संवादमार्फत गरिने प्रष्ट पारेका छन् ।

‘हाम्रो छिमेकी देश नेपालसँग मानसोवर जोड्ने धार्चुला–लिपुलेक सडकलाई लिएर केही विवाद पैदा भएको छ। भारत र नेपालका बीचमा जुन सम्बन्ध छ, यो कुनै सामान्य सम्बन्ध होइन। भारत र नेपालकाबीचमा रोटी र बेटीको सम्बन्ध छ,’ उनले भनेका छन्, ‘नेपालसँग हाम्रो केवल सामाजिक, भौगोलिक, ऐतिहासिक र सांस्कृतिक सम्बन्ध मात्रै छैन। आध्यात्मिक सम्बन्धसमेत छ। भारत–नेपाल सीमालाई लिएर एक भ्रमको स्थिती बनेको छ। त्यसलाई मिलेर कुराकानीका माध्यमबाट हल गर्नेछौं।’

यस्तै उनले पशुपतिनाथलाई भुल्न नसकिने बताएका छन्। ‘बाबा पशुपतिनाथलाई हामी कसरी भुल्न सक्छौं। बाबा पशुपतिनाथ हो या हाम्रो भारतमा काशी विश्वनाथ, सोमनाथ यी सबैको अमरनाथबाट कसरी अलग गर्न सकिन्छ?,’ उनले भनेका छन्, ‘यो सम्बन्ध त यो लोकको मात्र होइन। मलाई लाग्छ यो सम्बन्ध दोस्रो लोकको पनि हो। जुन चाहेर पनि बदल्न सकिँदैन। अहिले म रक्षामन्त्रीकोरुपमा जिम्मेवारी निर्वाह गरिरहेको छ। यहाँ गोरखा रेजिमेन्ट छ। जसले समय–समयमा बारम्बार वीरता र पराक्रमको परिचय दिएको छ। उक्त गोरखा रेजिमेन्टको पनि उद्घोष छ, ‘जय महाकाली, आयो रे गोरखाली।’

उनले मानसरोवर यात्रामा जाने तीर्थ यात्री सिक्किमको नाथुलाबाट जाने गरेपछि पछिल्लो समय धार्चुला–लिपुलेक लिंक रोडले सुविधा दिएको उनले बताएका छन्।

रक्षा मन्त्री सिंहका अनुसार यो ८० किलोमिटर लामो सडक छ र जसलाई भारतीय क्षेत्रमा बनाइएको छ । साथै उनले यो मार्गप्रति नेपालमा उत्पन्न भएको भ्रमलाई वार्ताको माध्यमबाट समाधान गरिने बताए ।

पछिल्लो समय नेपाल र भारतको सीमा विवाद चर्किएको छ। भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा मात्रै जारी गरेन्, नेपाली भूमिमै मानसरोवर जाने सडक समेत बनाएको छ। नेपालले समेत भारतले अतिक्रमण गरेको भूमी समेटेर नयाँ नक्सा जारी गरिसकेको छ।