२३ बैशाख २०८१, आईतवार

देशमा विकास र शान्तिका लागि गठबन्धन आवश्यक छ : शेरबहादुर देउवा

deuba

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा विकास र शान्तिका लागि गठबन्धन आवश्यक रहेको धारणा राखेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले संविधानले सबै लिंग जातिको प्रतिनिधित्व सुनिश्चित गरेकाले पनि गठबन्धनप्रति आफ्नो पार्टी विश्वस्त रहेको जनाए । उनले संविधान रक्षाका लागि पनि गठबन्धनको संस्कृतिलाई आत्मसात् गरेको धारणा राखे ।

प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्‌मा सरकारलाई विश्वासको मतका लागि आह्वानपछि बोलेका देउवाले भने, ‘हामी गठबन्धनमा जानुको विकल्प छैन ।’ उनले राजनीतिक स्थायित्वका लागि यसअघि पनि दाहालको पक्षमा मतदान गरेको र अहिले पनि दाहालको प्रस्तावकै पक्षमा मतदान गर्ने धारणा राखे ।

‘राजनीतिक स्थिरताका लागि यसअघि पनि पुष्पकमल दाहाललाई प्रस्तावको पक्षमा मतदान गरेका थियौं,’ उनले भने, ‘राजनीतिक स्थायित्व र स्थिरताका लागि हामी सँगै उभिएका हौं । सँगै उभिरहने वाचा गर्छौं ।’