१७ बैशाख २०८१, सोमबार

चार मत बढी पाएका नेम्वाङ

subas nemnga
फाइल फोटो

नेकपा एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले चार मत बढी पाएका छन् । राष्ट्रपतिको निर्वाचनमा उनी पराजित भए पनि आफूले पाउने भन्दा चार मत बढी पाएका हुन् ।

संघमा फरार रहेका लक्ष्मी महतो कोइरीलाई छाडेर एमालेका ९५ सांसद थिए । तर नेम्वाङले संघमा ९८ जनाको मत प्राप्त गरे । अर्थात् उनले संघतर्फ थप ३ जना सांसदको मत पाए ।

यसैगरी एमालेको प्रदेशसभातर्फ १६१ मत रहँदा पनि १६२ जनाको मत प्राप्त गरे । यसर्थ नेम्वाङले प्रदेशसभातर्फ एकजनाको मत थप प्राप्त गरे । उनले संघमा ३ र प्रदेशमा १ जनाको मत थप प्राप्त गरेका हुन् ।

निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले नेम्वाङको पक्षमा मतदान गरेन भने राष्ट्रिय प्रजातन्त्र पार्टी निर्वाचनमा सहभागी नै बनेन ।

राष्ट्रपतिको निर्वाचनबाट रामचन्द्र पौडेल विजयी भएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा मतदान भएको थियो । निर्वाचन आयोगका अनुसार पौडेलले ३३ हजार ८०२ मतभार पाए भने नेम्वाङले १५ हजार ५१८ मतभार पाए । पौडेलले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाए । यस्तै नेम्वाङले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाए । संघीय १ मतबराबर ७९ मतभार कायम गरिएको छ भने प्रदेशतर्फ ४८ मतभार कायम गरिएको छ ।

बिहीबार बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको हो । राष्ट्रपतिका लागि कुल ८८१ मध्ये ८३१ मत खसेको थियो । संघतर्फ ३१३ मत खसेको छ । संघतर्फ कुल ३३१ मध्ये १८ मत खसेन । यसमा राप्रपाका १४, भारतमा उपचाररत कांग्रेसका सांसद चन्द्र भण्डारी र फरार सांसद लक्ष्मी महतो कोइरीसमेत १६ जनाको मत खसेन भने बाँकी दुई सांसद पनि अनुपस्थित देखिए ।

यसैगरी प्रदेशसभातर्फ ५५० मध्ये ५१८ सदस्यले मतदान गरेका थिए । ३२ जनाको मत नखसेकामा राप्रपाका २८ छन् भने थप चारजना मतदानमा अनुपस्थित भएको देखिन्छ ।

राष्ट्रियसभाका ५९ र प्रतिनिधिसभाका २७५ सांसद गरी संघीय संसद्‌मा ३३४ कुल सदस्य छन् । तीमध्ये एकजना निलम्बित, एकको निधन भएको, एकजना पदमुक्तसमेत गरी तीनजना घटाउँदा कुल मतदाता संख्या ३३१ थियो ।

    सम्बन्धित समाचार...