३ जेष्ठ २०८१, बिहीबार

जनतालाई मतदान गर्न सिकाएर आफू निर्वाचित भएर आएका ५ जनप्रतिनिधिले मतदान गर्नै जानेनन्

voting 1024x6211678356890 1

राष्ट्रपतिलाई मतदान गर्नेहरु जनप्रतिनिधि हुन् । उनीहरुले जनतालाई मतदान गर्न सिकाएर आफू निर्वाचित भएर आएका हुन् ।

तर, आज (बिहीबार) भएको राष्ट्रपतिको निर्वाचनमा भने पाँच जनप्रतिनिधिको मत बदर भएको छ । अरुलाई राम्ररी मतदान गर्न सिकाउने जनप्रतिनिधिकै मत बदर हुनु हेलचेक्रयाइँ हो या जानीजानी बदर गरिएको हो त्यो भने गोप्य मतदान भएका कारण थाहा हुन सकेन । जनप्रतिनिधि स्वयंले मतदान गर्न नजान्नु विडम्बना हो ।

मुलुकले तेस्रो राष्ट्रपतिका रुपमा रामचन्द्र पौडेललाई पाएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा मतदान भएको थियो । त्यही मतगणना पनि गरिएको थियो । निर्वाचन आयोगका अनुसार रामचन्द्रले ३३ हजार ८०२ मतभार पाए भने अर्का उम्मेदवार सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मतभार पाए । पौडेलले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाए । यस्तै नेम्वाङले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाए ।

बिहीबार बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको हो । राष्ट्रपतिका लागि कुल ८८१ मध्ये ८३१ मत खसेको थियो । प्रतिनिधिसभातर्फ ३१३ मत खसेको छ । प्रतिनिधिसभाका कुल ३३१ मध्ये १८ मत खसेन । यसमा राप्रपाका १४, भारतमा उपचाररत कांग्रेसका सांसद चन्द्र भण्डारी र फरार सांसद लक्ष्मी महतो कोइरीसमेत १६ जनाको मत खसेन भने बाँकी दुई सांसद पनि अनुपस्थित देखिए ।

यसैगरी प्रदेशसभातर्फ ५५० मध्ये ५१८ सदस्यले मतदान गरेका छन् । ३२ जनाको मत नखसेकामा राप्रपाका २८ छन् भने थप चारजना मतदानमा अनुपस्थित भएको देखिन्छ ।

राष्ट्रियसभाका ५९ र प्रतिनिधिसभाका २७५ सांसद गरी संघीय संसद्‌मा ३३४ कुल सदस्य छन् । तीमध्ये एकजना निलम्बित, एकको निधन भएको, एकजना पदमुक्तसमेत गरी तीनजना घटाउँदा कुल मतदाता संख्या ३३१ थियो ।

    सम्बन्धित समाचार...