२० बैशाख २०८१, बिहीबार

एमाले-कांग्रेस एक ठाउँमा नहुने भनेर कसम खाएका छैनौं : अध्यक्ष ओली

oli kp
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनपछि नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बन्दैन भन्न नसकिने धारणा राखेका छन् ।

राष्ट्रपतिको निर्वाचनपछि बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्ने भनाइले सार्थकता पाउनसक्ने दाबी गरे । उनले आगामी राष्ट्रपतिबाट देशको हितको रक्षा, सार्वभौम सत्ताको रक्षा, भौगोलिक अखण्डताको रक्षा, राष्ट्रिय हित र स्वाभिमानको रक्षा, लोकतन्त्रको रक्षा, जनताप्रति उत्तरदायी, संविधानको पक्षमा उभिने, संविधानको पक्षमा उभिनलाई आफ्नो स्वार्थमा व्याख्या गर्ने, त्यसलाई संविधानसम्मत लोकतान्त्रिक कोणबाट व्याख्या गर्ने, देशप्रति बफादार भएर संविधानको रक्षक, पालकको हिसाबले देशको अभिभावकको भूमिका वहन गर्नसक्ने आवश्यक रहेको जनाए ।

उनले यसअघिका राष्ट्रपतिको आलोचना गर्नेहरु संकीर्ण स्वार्थ बोकेकाहरुले सानो स्वार्थ पूरा भएन भनेर राष्ट्रपतिको मर्यादा नगरेको भन्दै राष्ट्रपतीय प्रणालीलाई नै मन नपराउने, जन्मिँदै श्रेष्ठ भनेर जस्तो भए पनि पुज्ने बानी परेका र संकीर्णताका काम गर्नेहरुले देशका लागि अडेर काम गरे भनेर विरोध भएको उल्लेख गरे ।

‘राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्छन् नि, त्यही हो । एक ठाउँमा नआउने भनेर कसम आएको छैन,’ अध्यक्ष ओलीले भने, ‘आलोचना संकीर्ण स्वार्थ बोकेकाहरुले सानो स्वार्थ पूरा भएन भनेर राष्ट्रपतिको मर्यादा नगर्ने कुरा, एक त राष्ट्रपतिय प्रणालीलाई नै मन नपराउने, जन्मिँदै श्रेष्ठ भनेर जस्तो भए पनि पुज्ने बानी परेका र संकीर्णताका काम गर्नेहरुले देशका लागि अडेर काम गरे भनेर विरोध भएको छ ।’

अध्यक्ष ओलीले यसअघिका दुवै राष्ट्रपतिले उल्लेखनीय काम गरेको र राष्ट्रपति विद्यादेवी भण्डारीले झनै महत्त्वपूर्ण रुपमा काम गरेको दाबी गरे । उनले भने, ‘दुवै राष्ट्रपतिले यसअघि राम्रो काम गर्नुभएको छ ।’