
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले सुगौली सन्धि नमान्ने हो भने भारतले टिस्टा र काँगडा नेपाललाई छाड्नुपर्ने बताएका छन्।
नयाँ नक्सालाई आधिकारिकता दिन संसदमा पेश गरिएको संविधान संशोधन विधेयकमाथि शनिबार भएको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।
कुनै पक्षलाई दोष दिएर वा पाखा लगाएर राष्ट्रिय एकता कायम नहुने भन्दै उनले कूटनीतिक सम्वादमार्फत भूमि फिर्ता ल्याउनु पर्नेमा जोड दिए । सन्धि र प्रमाणका आधारमा लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै रहेको भन्दै उनले भने, ‘भारतलाई सोधौँ सुगौली सन्धि मान्ने हो कि होइन ? होइन भने टिष्टादेखि काँगडासम्म नेपाललाई छोडनु पर्छ ।’
यद्यपि भारतले सुगौली सन्धिको पालना गर्ने उनको विश्वास छ । संविधान संशोधन गरेर नेपालको भूमि आफ्नो नक्सामा समावेश गरेर ऐतिहास कामको नेतृत्व लिने सौभाग्य पाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनले बधाई तथा धन्यवाद दिए ।
‘भारतले सुगौली सन्धि नमान्ने हो भने टिस्टा र काँगड छाड्नुपर्छ’, उनले भने, ‘भारतलाई हामीले बुझाउनुपर्छ, अनि उसले गल्ती स्वीकार्छ। सम्भव छ, हामी सक्छौँ हाम्रो भूमि फिर्ता ल्याउन।’
सांसद लिङ्देनले विगतका गल्तीको पाप अहिले नपखालिने बताउँदै अब सच्चिएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले नेपाल भारतको भाइ नभएको पनि बताए। ‘हामी भारतको भाइ होइनौँ, मित्र हौँ’, उनले भने, ‘हामीले भारतसँग दुष्मनी बढाउन चाहेको होइन, हाम्रो भूमि खोजेको हो।’
सांसद लिङ्दनले आजैको छलफलमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रका कारण भूमि गुमेको भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
‘जसले यो देश निर्माण गरे, जसले नेपाल राष्ट्र र नेपालीको परिचय दिए, उनैमाथि भूमि बेचेको आरोप लगाइयो’, उनले भने, ‘कसैलाई आलोचना गर्ने र धक्कु लगाउने दिन होइन यो, सबै एकजुट हुने दिन हो।’