१४ बैशाख २०८१, शुक्रबार

एक वर्ष पूरा रुस-युक्रेन युद्ध: संयुक्त राष्ट्रसंघद्वारा रुसी आक्रमणको भर्त्सना

sayukta rastra

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको आज एक वर्ष पूरा भएको छ । संयुक्त राष्ट्रसंघको महासभाले रुस-युक्रेन युद्धको वार्षिकोत्सवको पूर्व सन्ध्यामा एक प्रस्ताव पारित गर्दै रुसी आक्रमणको भर्त्सना गरेको छ ।

अत्यधिक मतका साथ पारित उक्त प्रस्तावमा लडाइ रोक्न र बिना शर्त युक्रेनबाट तत्काल सेना फिर्ता गर्न रुसलाई आह्वान गरिएको छ । महासभाका १ सय ९३ सदस्यमध्ये नेपाल लगायतका एक सय ४१ सदस्य राष्ट्रले प्रस्तावको पक्षमा मतदान गरेका छन् । रुस, बेलारुस, उत्तर कोरिया, इरिट्रिया, माली, निकारागुआ र सिरियाले प्रस्तावको विपक्षमा मतदान गरे । चीन, भारत, इरान, साउथ अफ्रिका लगायतका ३२ देश मतदानमा तटस्थ बसेका थिए ।

महासभाद्वारा पारित उक्त प्रस्तावमा युक्रेनमा सक्दो चाँडो शान्ति कायम गर्न आह्वान गरिएको छ । यसैगरी प्रस्तावमा युक्रेनी भूभागमाथिको रुसको दावीलाई अस्वीकृत गर्नुका साथै युक्रेनको सार्वभौमिकता र भौगोलिक अखण्डताप्रतिको समर्थन दोहोर्‍याइएको छ । गत वर्षको सेप्टेम्बरमा रुसले युक्रेनका चारवटा क्षेत्रलाई आफूमा गाभेको घोषणा गरेको थियो ।

संयुक्त राष्ट्रसंघ महासभाद्वारा पारित प्रस्तावको कार्यान्वयन कानुनी रूपमा बाध्यात्मक नभए पनि राजनीतिक रूपमा यसले ठूलो महत्त्व राख्छ ।

एक वर्षअघि अर्थात् २०२२ को फेब्रुअरी २४ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण गर्न करिब दुई लाख सैनिक परिचालित गरेका थिए ।

यो एक वर्षको अवधिमा दुवैतर्फ हजारौँ सैनिक मारिएका छन् । युक्रेनका कम्तीमा सात हजार एक सय ९९ सर्वसाधारणले ज्यान गुमाएको र हजारौँ घाइते भएको राष्ट्रसंघको तथ्यांक छ । वास्तविक संख्या यो भन्दा निकै बढी भएको आशंका गरिएको छ । अमेरिकी तथा केही पश्चिमा अधिकारीहरूले रुसतर्फ करिब दुई लाख सैनिक मारिएको वा घाइते भएको अनुमान गरेका छन् ।

रुसी आक्रमणका कारण युक्रेनी सहरहरू खण्डहरमा परिणत भएका छन् भने ८० लाखभन्दा बढी मानिस छिमेकी देशमा पलायन भएका छन् ।

    सम्बन्धित समाचार...