२० बैशाख २०८१, बिहीबार

उपराष्ट्रपति जसपालाई दिने विषयमा माओवादी केन्द्र सकारात्मक छ : उपेन्द्र यादव

Upendra yadav
फाइल फोटो

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिन नेकपा माओवादी केन्द्र सकारात्मक भएको जनाएका छन् ।

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै बिहीबार उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

छलफलका क्रममा आफूहरुले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन तथा सरकारको विषयमा धारणा राखेको यादवले जानकारी दिए । यादवका अनुसार प्रधानमन्त्री दाहाल जसपालाई उपराष्ट्रपति दिन सकारात्मक छन् । आगामी दिनमा सरकारको विषयमा पनि छलफल हुने यादवले जनाए ।

‘उपराष्ट्रपति, राष्ट्रपति, सरकारलगायत विषयहरुमा हामीले आफ्नो धारणा राख्ने काम गर्‍यौं । माओवादी अत्यन्त सकारात्मक हुनुहुन्छ । सरकारलाई गतिशील बनाउने कुराहरु फेरि अन्यत्र पनि जोडिएका छन्,’ उनले भने, ‘अहिलेको सरकार त हामीबाहेकको सरकार न हो । एमाले र माओवादीलगायत पार्टीको सहकार्यमा बनेको सरकार हो । त्यसको विषय के हो त ? अब कहीँ न कहीँ एउटा किनारा त लाग्नुपर्‍यो । कि यता कि उता । त्यसका विषयमा पनि छलफल हुने आउने दिनमा । माओवादीहरु, प्रचण्डजीहरु जसपालाई उपराष्ट्रपति दिने विषयमा सकारात्मक रहनुभएको छ ।’

अध्यक्ष यादवले प्रधानमन्त्री दाहालले जुनसुकै काम गर्दा पनि नेपाली कांग्रेसलाई सहमतिमा लिएर जान चाहेको धारणा व्यक्त गरेको पनि उल्लेख गरे । दाहालले आगामी दिनमा कांग्रेससँग सहकार्य गर्नुपर्नेमा जोड दिएको पनि यादवले जानकारी दिए ।

‘प्रचण्डले अहिले कांग्रेसलाई पनि समेटेर लानुपर्छ भन्ने उहाँको हो । कांग्रेसलाई पनि समेट्नुपर्ने अवस्था हो । सहकार्य गर्नुपर्छ र जे गर्दा पनि कांग्रेसको पनि समझदारी चाहिन्छ भन्नुभयो । कांग्रेसलाई पनि सहमतिमा लिएर जानुपर्छ भन्ने उहाँको इच्छा हो,’ यादवले भने ।

    सम्बन्धित समाचार...