१७ बैशाख २०८१, सोमबार

‘मुलुककै बेइज्जत राष्ट्रपति को हुने भन्ने लफडाले’

kursi 1

आगामी २५ फागुनमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले तेस्रो राष्ट्रपति पाउँदै छ । २५ फागुनमा हुने राष्ट्रपतिको निर्वाचनले नयाँ राष्ट्रपति चयन गर्ने भए पनि अहिलेदेखि नै राष्ट्रपति को हुने भन्नेमा लफडाबाजी सुरु भएपछि राष्ट्रपति पदको गरिमा र महत्व नै घट्ने अवस्थामा पुगेको छ ।

प्रमुखलगायतका विभिन्न राजनीतिक दल र तिनका नेताले तेस्रो राष्ट्रपति चयन प्रक्रिया आउनैलाग्दा गरेका खुलेयामका कृत्य र अस्वाभाविक दौडधूपले गणतन्त्रमाथि नै व्यंग्य गरिरहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ । ‘सेरेमोनियल राष्ट्रपति चयन गर्न नेपालमा जस्तो लफडा र गलत कृत्य विश्वका अन्य कुनै मुलुकमा भएको मैले देखेको छैन,’ राजनीतिक विश्लेषक एवं प्राध्यापक डा लोकराज बरालले भने । उनले राष्ट्रपतिका लागि नेताहरूको अनावश्यक दौडधूपलाई अस्वाभाविक लफडाका रूपमा चित्रण गरेका छन् ।

केही समयअघि मात्रै छिमेकी देश भारतमा द्रौपदी मुर्मु राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । राजनीतिक विश्लेषक बरालले भारतमा मुर्मु राष्ट्रपति हुँदा कुनै केही चर्चा नभई एक्कासि भएपछि मात्रै विश्वले थाहा पाएको स्मरण गर्दै भने, ‘तर, हामीकहाँ महिनौंदेखि राष्ट्रपति को हुने भन्नेमा लफडा चलेको चलै छ, यस्तो विचित्र देश विश्वमा सायदै होला ।’ राजनीतिक विश्लेषक बरालले प्रमुख राजनीतिक दल र तिनका नेताहरूले राष्ट्रपतिका लागि गरेको कृत्यले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै अविश्वास पैदा हुनसक्ने चिन्ता व्यक्त गरे ।

हुन पनि राष्ट्रपतिका लागि मनोनय हुने समय नजिकिँदै गर्दा प्रमुख राजनीतिक दल काँग्रेस, एमाले र माओवादीका नेताहरूले राष्ट्रपतिका लागि गरेको दौडधूपले राष्ट्रपति पदको सिंगो गरिमा नै घटाएको देखिन्छ । दल र तिनका नेताहरूको ‘भाले भिडन्त’ तथा यस्तै कृत्य जारी रहने र यसैबीच राष्ट्रपति चयन भएमा त्यस्तो राष्ट्रपतिको आधा कद घट्ने विश्लेषकहरूको ठम्याइ छ ।

नेपालको संविधानको धारा ६१ को उपधारा २ ले राष्ट्रपतिलाई राष्ट्राध्यक्षका रूपमा राखेको छ । साथै, संविधानले नै राष्ट्रपतिलाई राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने र संविधानको संरक्षण गर्ने महत्वपूर्ण दायित्व सुम्पेको छ । यति महत्वपूर्ण दायित्वमा रहने राष्ट्रपतिको छनोट प्रक्रियालाई भने प्रमुख दल र तिनका नेताहरूले निकै हलुका बनाइदिएका छन् । राजनीतिक विश्लेषक डा। बरालले नियुक्त हुनुअघि नै दलका नेताहरूले दिनदिनै राष्ट्रपतिमा नयाँ व्यक्तिहरूलाई अघि सारेर मुलुकको बेइज्जत गरेको बताए ।

अर्का राजनीतिक विश्लेषक कृष्ण पोखरेलले पनि नेताहरूले राष्ट्रपतिको निर्वाचनअघि रमिता मच्चाएको बताए । उनले राष्ट्रपतिको मनोनयनको दिनभन्दा अघिसम्म धेरै नेता राष्ट्रपति भइसक्ने भन्दै व्यंग्यसमेत गरेको आजको राजधानी दैनिकमा खवर छ ।

    सम्बन्धित समाचार...