१५ बैशाख २०८१, शनिबार

प्रमुख राजनीतिक दलहरूको सक्रियता तीव्र: सहमतिको खाका आज आउन सक्ने

Deuba Prachand Madhav Nepal

राष्ट्रपति पदका लागि उम्मेदवारी मनोनयन दर्ताको समय तीन दिन बाँकी रहँदा संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूको सक्रियता तीव्र भएको छ ।

राष्ट्रपति निर्वाचनकै सन्दर्भमा प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छलफल सकारात्मक रहेको बताए । उनले भने, “विभिन्न चरणमा संसद्का मुख्य दलहरूसँग छलफल भइरहेको छ । आज चार दलबीच धेरै विषयमा कुरा भयो । पार्टी–पार्टीबीच कुरा भएको छ । दलहरूको धारणा लिने काम भयो । अब फेरि सबै एकै ठाउँमा बसेपछि सहमतिको खाका तयार हुन्छ ।”

प्रधानमन्त्री प्रचण्डसँगको भेटअघि कांग्रेस सभापति देउवाले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरू र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग राष्ट्रपति निर्वाचनकेन्द्रित छलफल गरेका थिए ।

छलफलमा सहभागी एकीकृत समाजवादीका महासचिव डा वेदुराम भुसालले कांग्रेससँगको बैठकमा संविधान र लोकतन्त्रको रक्षार्थ उभिएका शक्ति एक ठाउँमा उभिएर राष्ट्रपति निर्वाचनमा जाने समझदारी बनेको बताए ।

उनले भने “संविधान र लोकतन्त्र पक्षधर शक्तिबीच हुँदै आएको सहकार्यलाई निरन्तरता दिने विषयमै छलफल भएको छ । यो राष्ट्रपति निर्वाचनसँग पनि जोडिएको छ । राष्ट्रपतिको आवश्यकता पनि यसैका निम्ति हो भन्ने दुवै दलको निष्कर्ष छ ।”

सत्ताको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आफ्नो तर्फबाट उम्मेदवार नउठाए पनि राष्ट्रिय सहमतिका आधारमा ‘सर्वस्वीकार्य व्यक्ति’को खोजी गरिरहेको छ । माओवादी केन्द्रको पदाधिकारी बैठकले राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपतिको निर्वाचनमा जानुपर्ने निष्कर्ष निकालेको छ ।

संसद्को पहिलो दल नेपाली कांग्रेसले प्रतिपक्षी दलहरूसँग छलफल चलाइरहेको छ । राष्ट्रपति पदमा आफ्नै पार्टीका उम्मेदवारलाई जिताउने रणनीतिका साथ कांग्रेसले छलफल अघि बढाएको छ ।

सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सरकार गठनका क्रममा पुस १० गते भएको समझदारीअनुसार राष्ट्रपति पद आफूले पाउनुपर्ने अडान दिइरहेको छ । गोरखापत्र दैनिकबाट

    सम्बन्धित समाचार...