१ जेष्ठ २०८१, मंगलवार

राजनीतिक दल राष्ट्रपतिको उम्मेदवार टुंग्याउने कसरतमा, नेताहरु दौडधुपमै व्यस्त

deuba oli prachand madhav 1

राष्ट्रपतिको उम्मेदवारी मनोनयन गर्ने दिन नजिकिँदै गर्दा राजनीतिक दलहरुले छलफल तीव्र पारेका छन् । निर्वाचन आयोगले फागुन २५ गते हुने चुनावका लागि १३ गते मनोनयन दर्ता गर्न भनेको छ ।

प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेले अहिलेसम्म राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन सकेका छैनन् । माओवादी केन्द्रले राष्ट्रपतिमा आफूले उम्मेदवारी नदिने भने पनि कसलाई समर्थन गर्ने भन्ने निर्णय गरेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज बालुवाटारमा भएको भेटवार्तामा राष्ट्रपतिको उम्मेदवारबारे छलफल भए पनि कसलाई उम्मेदवार बनाउने भन्नेमा सहमति भएन । त्यसक्रममा ओलीले पार्टीका तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम प्रस्ताव गरेको बताइएको छ ।

त्यसो त सरकारलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले पनि राष्ट्रपति आफूले पाउनुपर्ने भन्दै माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहालसँग निरन्तर छलफल गरिरहेको छ । त्यति मात्र होइन, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमेत राष्ट्रपति बन्ने दौडमा लागेका छन् । आइतबार एमाले अध्यक्ष ओलीसँगको भेटपछि नेपाल राष्ट्रपति बन्न हौसिएका हुन् । समाजवादीले सचिवालयको बैठक नै गरेर अध्यक्ष नेपाललाई राष्ट्रपतिमा अघि सार्ने र अन्य दलहरुसँग समर्थन जुटाउनेसम्मको निर्णय गरी कांग्रेससँग आजै भेटेर सहयोग मागेको छ ।

उता लोकतान्त्रिक समाजवादी पार्टीले पनि अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवारका रुपमा अघि सारेर कांग्रेस, एमाले र माओवादी केन्द्रसँग सहयोग मागिसकेको छ । लोसपाका नेताहरुले आज कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर राष्ट्रपतिमा महन्थ ठाकुरलाई अघि सार्ने पार्टीको निर्णय सुनाउँदै सहयोग गर्न आग्रह गरे ।

लोसपा अध्यक्ष ठाकुर र एमाले अध्यक्ष ओलीबीच राष्ट्रपति चुनावकै विषयमा पटक-पटक छलफल भएको छ । हिजो (मंगलबार) साँझ पनि ओली र ठाकुरले संवाद गरेका थिए ।