२६ बैशाख २०८१, बुधबार

अन्तर्राष्ट्रिय उडानको बाटो खुला पोखरा विमानस्थलमा आजदेखि

Pokhara Airport

गत पुस १७ गतेदेखि सञ्चालनमा आएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि प्रविधिमा आधारित उडान–अवतरण (इन्स्ट्रुमेन्टल फ्लाइट रुल, आईएफआर) उडान सुरु हुँदैछ ।

क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा निर्माण भए पनि हालसम्म यो विमानस्थलमा आँखाले हेरेको आधारमा गरिने उडान (भिजबल फ्लाइट रुल, भीएफआर) हुँदै आएको छ । आईएफआर प्रणाली सुरु भएसँगै अन्तर्राष्ट्रिय उडानको पनि बाटो खुलेको छ ।

आईएफआर प्रणाली सञ्चालन हुँदा अब पोखरामा उडान अवतरणका लागि चाहिने भिजिबिलिटी (दृश्य क्षमता) तीन हजार छ सयदेखि चार हजार मिटर भए पुग्ने पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताए ।

यसअघि पोखरामा पाइलटले आँखाले आकाश र रनवे हेरेर गरिने भीएफआर उडानका लागि विमानस्थल वरपरको भिजिबिलिटी न्यूनतम पाँच किलोमिटर हुनैपर्ने प्रावधान रहेको थियो ।

उनले भने “आईएफआर प्रणालीमा आधारित रहेर पोखरामा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानको बाटो खुला भएको छ । अब पोखरामा नियमित उडानका लागि चाहिने ग्राउन्ड, जहाज र पाइलटलगायतका अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएका छन् ।”

आईएफआरको सुविधाले अब पोखरा विमानस्थल दैनिक १८ घण्टा सञ्चालनमा आउने र रात्रिकालीन उडानसमेत हुने उनले बताए । उनले भने, “यसअघि भीएफआर प्रणालीमा आधारित रहेर पोखरामा उडान गर्दा सूर्यास्तको समय हेरेर ४ देखि ५ बजेपछि उडान बन्द हुने गरेको थियो । अब आधुनिक प्रविधिको सहायताबाट उडान सुचारु हुन लागेको छ ।”

विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि यसअघि बाधक मानिँदै आएको रिट्ठेपानी डाँडा कटानको काम जारी रहे पनि आईएफआर उडानका लागि आवश्यक डाँडा कटानको काम सकिएको उनको भनाइ छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आईएफआर प्रणाली सञ्चालनको तयारीसँगै अन्तर्राष्ट्रिय हवाई कम्पनी पनि पोखरामा सिधा उडानका लागि चासो देखाउन थालेका छन् ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार प्राधिकरणले चैत १२ देखि सुरु हुने गर्मीयामको उडान तालिकाअनुसार नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स पोखराबाट उडान भर्न तयार देखिएका छन् ।

उनले भने, “विदेशी हवाई कम्पनीको दाँजोमा आधिकारिक अनुमतिको प्रक्रिया सुरु नभए पनि कुवेतबाट जजिरा एयरलाइन्स, अबुधाबीबाट बिज एयर र कोरियाबाट कोरियन एयरलाइन्सले चासो देखाएका छन् ।”

पोखराबाट चाररपाँच घण्टाको दूरीमा हुने उडानका लागि निगमले भारत, बङ्गलादेश, बैङ्ककलगायतका गन्तव्य र हिमालयले चीनका गन्तव्यमा एयरबस ३२० बाट उडान गर्न सक्ने उनले बताए ।

विमानस्थलको पूर्वतर्फको ‘रनवे ३–०’ बाट आईएफआर उडान–अवतरण गर्न सकिनेछ । पश्चिमतर्फको ‘रनवे १–२’ बाट भने भीएफआर उडान मात्र हुनेछ । यती एयरलाइन्सको एटीआर–७२ जहाज अवतरणका क्रममा माघ १ गते दुर्घटनामा परेपछि दुर्घटना जाँच आयोगले ‘रनवे १­–२’ को विस्तृत अध्ययन गरेर मात्र अवतरणको अनुमति दिन सिफारिस गरेको छ । क्यानले दुर्घटनालगत्तै ‘रनवे १–२’ बाट तत्कालका लागि जहाज अवतरणमा रोक लगाएको छ ।

अन्तर्राष्ट्रिय उडानको बाटो खुलेसँगै कोरोना भाइरस महामारीका कारण थलिएको पोखराको पर्यटन क्षेत्रमा राहत हुने पर्यटन व्यवसायीको अपेक्षा छ ।

    सम्बन्धित समाचार...