१५ बैशाख २०८१, शनिबार

च्याम्पियन्स लिग: सिटी बराबरीमा रोकियो

rb leipzig v manchester city champions league

युएफा च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटी लाइपजिकसँग १ – १ गोलको बराबरीमा रोकिएको छ ।

रेडबुल एरिनामा भएको खेलमा पाहुना टोली सिटीले पहिलो हाफमा बनाएको अग्रतालाई अन्तिमसम्म निरन्तरता दिन सकेन । पहिलो हाफको ४५ मिनेट पुरै पेप ग्वार्डिवालाको टोली सिटीको नियन्त्रणमा थियो ।

इल्काइ गुन्डोअनले खेलको मध्यतिर गोलको खाता खोल्ने अवसर गुमाए । २७ औँ मिनेटमा रिहाद महरेजले गोल गरेपछि सिटी पहिलो हाफमा १ – ० ले अघि रह्यो । दोस्रो हाफमा सुधारिएको लाइपजिकका लागि बेन्हामिन हेनरुसको २ प्रहार बिफल भएका थिए । उनले गरेको हेडर पोस्ट माथिबाट बाहिरियो भने अर्को प्रहार पोस्ट बारभन्दा केही परबाट बाहिरियो ।

अन्तत: ७० औँ मिनेटमा लाइपजिकले बराबरी गोल फकार्‍यो । कर्नरबाट आएको बलमा योस्को गार्डिवालले हेडर गोल गरेका हुन् । गुन्डोअनले त्यसको केही समयपछि अग्रता बनाउने मौका गुमाए । उनले पोस्ट नजिकैबाट गरेको प्रहारलाई लाइपजिकका गोलरक्षक जानिस ब्लासविचले बचाएपछि सिटी १ – १ गोलको बराबरीका रोकिएको हो । स्टार खेलाडी अर्लिङ हालान्डले पनि आफ्नो प्रभाव देखाउन सकेनन् । सिटी लगातार २ खेलमा बराबरीमा रोकिएको हो ।

पहिलो पटक युरोपेली च्याम्पियनसिपको उपाधि उचाल्ने लक्ष्यमा रहेको सिटीले अब आगामी १४ मार्चमा लाइपजिकलाई घरेलु मैदान इतिहादमा स्वागत गर्नेछ ।

    सम्बन्धित समाचार...