१ जेष्ठ २०८१, मंगलवार

आज सेना दिवस, टुँडिखेलमा भब्यताका साथ मनाईदैँ विशेष समारोह

Nepal Army day ceremony

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी दुई सय ६०औँ स्थापना दिवस मनाउँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछिन् । नागरिकको आस्था र भरोसाको केन्द्रविन्दुका रूपमा रहेको सेनाको उनी परमाधिपति हुन्। प्रमुख अतिथिले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गर्नेछिन् ।

हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिनेछ । सेना दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । भारतीय सेनाको गोर्खा रेजिमेन्ट र बेलायत आर्मीको टोलीद्वारा व्याण्ड प्रस्तुति हुनेछ ।

नेपाली समाजमा लोकप्रिय रहेको मादलको यही फागुन ४ गते विश्व कीर्तिमान कायम भएको प्रमाणपत्र पनि मुख्य समारोहपछि सेनालाई हस्तान्तरण गर्ने कार्यक्रम छ । जङ्गीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिनेछ । नेपाली सेनाको सङ्गठन प्रमुखमा हाल प्रधानसेनापति प्रभुराम शर्मा छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त जिम्मेवारीलाई उत्कृष्ट ढङ्गले कार्यसम्पादन गर्दैआएको बताएकी छन्।

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा स्वदेश तथा विदेशमा कार्यरत सेनाका सकलदर्जा र सैनिक परिवारजनमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उनले सेना नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राष्ट्रियताको रक्षार्थ सदैव तत्पर रहेको उल्लेख गरेकी छन् ।

राष्ट्रपतिले शुभकामना सन्देशमा भनेकी छन्, ‘संवैधानिक जिम्मेवारी कुशलतापूर्वक बहन गर्दै आएको सेनाले लामो समयदेखि राष्ट्रको प्रतिरक्षा, आन्तरिक सुरक्षालगायत संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको रूपमा विश्व शान्ति स्थापना कार्यमा पुर्‍याउँदै आएको योगदानको उच्च कदर गर्न चाहन्छु ।’

देश र जनताको सुरक्षालगायत विकास निर्माण र प्रकृति संरक्षणमा सेनाले अहम् भूमिका खेल्दै आएको बताउँदै सेनाका परमाधिपति भण्डारीले यस वर्ष भएका तीनै तहका निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन सेनाले खेलेको भूमिकाको प्रशंसा गरेकी छन् ।

सोही उपलक्ष्यमा दिएको शुभकामना सन्देशमा प्रधानमन्त्री पुष्पकमल दाहालले देश र जनताको सेवामा सेनाले देखाएको त्याग, समर्पण तथा सहयोगको लागि धन्यवाद ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री दाहालले भनेका छन्, ‘ऐतिहासिक परिवेश र परिदृश्यको सूक्ष्म निगरानी तथा विश्लेषण गर्दै देशको स्वतन्त्रता, सार्वभौमसत्ता, अखण्डता र स्वाधीनताको रक्षाका लागि नेपाल र नेपालीपनको पहरेदारको रूपमा स्थापित भएको यस सङ्गठनले देशको एकीकरणदेखि हालसम्म खेलेको भूमिका तथा योगदान सराहनीय छ ।’

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सेनाका सकलदर्जालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

स्थापनाकालदेखि नै नेपाली सेनाले निष्ठा र इमानदारीपूर्वक कर्तव्य निर्वाह गर्दै आएको बताउँदै उनले देशको स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्ने सिलसिलामा जस्तोसुकै कठिन र प्रतिकूल अवस्थामा पनि सेनाले प्रदर्शन गरेको अविचलित अनुशासन, निष्ठा र बलिदानका गाथाको स्मरण गरेका छन् ।

यसैबीच, सेनाले महाशिवरात्रि तथा सङ्गठन स्थापनाको २६० औँ वार्षिकोत्सवका अवसरमा मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको रक्षार्थ योगदान पुर्‍याउने सबैमा शुभकामना व्यक्त गरेको छ ।

सेनाको इतिहास र अन्तर्राष्ट्रिय छवि

नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ । वर्तमान सेनाको साङ्गठनिक स्वरूपको विसं १८१९ देखि सुरुआत भएको हो । देशभक्ति, समर्पण र आम नेपालीको हितलाई केन्द्रविन्दुमा राखी गरेको गौरवशाली कार्यबाटै नागरिकका बीचमा सेना आस्था र विश्वासको अटल छाप छोड्न सफल भएको छ ।

सैनिक वीरपुर्खाको अदम्य साहस, वीरता र बलिदानका आधारमा नेपाल राष्ट्र स्थापना भएको हो । राष्ट्रिय एकता कायम राख्नु नेपाली सेनाको संवैधानिक जिम्मेवारीभित्र पर्छ । सेनामा अनुशासन, चेन अफ कमाण्ड र राजनीति निरपेक्ष चरित्र, एकताको भावना उच्च संस्कारका रूपमा रहन्छ ।

नेपाली सेना मुलुकमा मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ । समावेशीका हिसाबले अहिले नेपाली सेनाको सङ्गठन चार जात छत्तीस जातिको फूलबारीजस्तै बनेको छ । महिलाको सहभागिता पनि उल्लेखनीयरूपमा वृद्धि हुँदै गएको छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ सेनाले प्रदान गरेको अतुलनीय योगदानको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट मुक्तकण्ठले प्रशंसा हुँदै आएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा सेनाको सहभागिता सन् १९५८ देखि आरम्भ भएको थियो । हालसम्म विश्वका विभिन्न मुलुकमा स्थापना भएका ४४ शान्ति मिसनमा रही एक लाख ४४ हजार नौ सय ६९ भन्दा बढी सैनिकबाट योगदान भइसकेको छ ।

विश्वका शान्ति कायम गर्ने सिलसिलामा ७२ नेपाली शान्ति सैनिकको बलिदानी भइसकेको छ भने ६६ सैनिक घाइते भएका छन् । विश्वमा हाल खडा भएका १३ शान्ति मिसनमा पाँच सय ४९ महिलासहित छ हजार ५९ नेपाली शान्ति सैनिक परिचालित छन् । शान्ति स्थापनाका लागि धेरै सेना खटाउने मुलुकको सूचीमा हाल नेपाल दोस्रो स्थानमा छ ।

संयुक्त राष्ट्रसङ्घले आह्वान गरेको खण्डमा १० हजार शान्ति सैनिक पठाउन सक्ने नेपालले प्रतिबद्धता जाहेर गरिसकेको छ । यसैबीच विश्वका अत्यन्त शक्तिशाली मुलुकका सैनिकका लागि समेत नेपाल पेसागत क्षमता र दक्षता अभिवृद्धि गर्ने पाठशाला बनिरहेको छ ।

वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, भक्तपुर खरिपाटीस्थित सैनिक शिक्षालय र शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा विश्वका कयौँ मुलुकका सैनिक सहभागीले यसलाई पुष्टि गरेको छ । सेना दिवसका अवसरमा यसपटक भारतीय सेनाका पूर्व पाँच प्रमुख समारोहमा भाग लिन काठमाडौं आइपुगेका छन् ।

दरबार, गढी, सङ्ग्राहलय, ऐतिहासिक महत्वका संरचना, विद्युत्गृह, भौतिक पूर्वाधार एवं प्राकृतिक सम्पदाको संरक्षण र सुरक्षा, हिमाल सफाइ तथा विकास निर्माणको जिम्मेवारीले सैनिक–नागरिकसँगको सम्बन्धलाई बलियो बनाउँदै लगेको सेनाका सहायकरथी एवं प्रवक्ता कृष्णप्रसाद भण्डारी बताउछन् ।