१५ बैशाख २०८१, शनिबार

सरकार श्रीमतीलाई लिएर मोटरसाईकलमा हिड्न पाईने कि नपाईने ?

pillion ride

सरकारले लकडाउनलाई केही खुकुलो बनाउँदै मोटरसाइकल चलाउन दिने भएको छ तर मोटरसाइकलमा एक जनाभन्दा धेरै चढ्न नपाइने ।

सरकारले शुक्रबारदेखि मोटरसाइकलमा पछाडि यात्रु बोक्न रोक लगाएपछि व्यापक आलोचना भएको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न भन्दै सरकारले दुईपांग्रे सवारीसाधनमा दुईजना रोक लगाएको हो|

लकडाउनलाई खुकुलो बनाउने निर्णय सार्वजनिक गर्दै बिहीबार सरकारका प्रवक्ता युवराज खतिवडाले भनेका थिए- साइकल र मोटरसाइकल अब चल्न पाउँछन् तर मोटरसाइकलमा एक जनाभन्दा बढी चढ्न पाइँदैन।

मोटरसाइकल बाहेकका अन्य निजी सवारी साधनमा चालकबाहेक बढीमा दुई जनासम्म चढ्न पाउने बताएका थिए।

शुक्रबार बिहानैदेखि उपत्यकाका सडकहरुमा सवारीको चाप देखिन्थ्यो। ठाउँठाउँमा ट्राफिक प्रहरीले नियम उल्लंघन गरेको भन्दै मोटरसाइकल र अन्य निजी सवारी साधनलाई नियन्त्रणमा लिएर राखेका थिए। ट्राफिक प्रहरीले एकैघरका बिरामीलाई पनि दुईजना चढेको भन्दै मोटरसाइकलबाट उतारेका थिए।

यो निर्णयलगत्तै सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना भएको छ । नेताका गाडीमा चार–पाँचजना चढ्दा कोरोना नसर्ने, मोटरसाइकलमा पछाडि मान्छे राख्दा कोरोना संक्रमण फैलिने ? भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रश्न गर्न थालेका छन् ।

त्यस्तै, सबै प्रकारका पैदल आवागमन, साइकल र मोटरसाइकल चल्न दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ। सबै प्रकारका ढुवानी पनि खुला गरिएको छ ।

सरकारले महामारी फैलन नदिने गरी लकडाउन खुकुलो बनाएको बताएको छ। पैदल यात्रीलाई समेत सामाजिक दुरी पालना गर्न र सुरक्षित भएर हिँड्न आग्रह गरेको छ।

रातदिन सँगै रहने श्रीमती र छोराछोरीसमेत चढाउन नपाउने निर्णयले तर्कसंगत नभएको भन्दै सरकारको आलोचना भएको छ।

‘सरकारले कोरोना नसरोस् र नफैलियोस् भनेर यो निर्णय गरेको होला। तर रातदिन म श्रीमती र छोराछोरीसँगै हुन्छु। मोटरसाइकलमा उनीहरुलाई चढाउँदैमा कहाँनेर जोखिम हुन्छ?’ कीर्तिपुरमा किराना पसल गर्दै आएका रमेश महर्जन भन्छन्।