६ जेष्ठ २०८१, आईतवार

रबर स्ट्याम्प राष्ट्रपतिविरुद्ध कांग्रेसले राम्रोसँग ढोक्सा थाप्छ : प्रदीप पौडेल

Pradip Paudel
फाइल फोटो

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले आफ्नो पार्टी राष्ट्रपतिमा ढोक्सा थाप्न तयार रहेको उल्लेख गरेका छन् । सत्ता गठबन्धनको ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिँदै उनले कांग्रेस रबर स्ट्याम्प राष्ट्रपतिको प्रतिवादमा उत्रने बताए ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसद पौडेलले ओलीलाई सुपर प्रधानमन्त्रीको संज्ञा दिँदै रबर स्ट्याम्प राष्ट्रपतिको खोजीका लागि बालकोट र बालुवाटारको दौड व्यापक बढेको आरोप लगाए ।

उनले भने, ‘यो संसदमा ढोक्सा भन्ने शब्द पूर्वप्रधानमन्त्री ज्यूले चर्चित बनाउनु भयो । प्रधानमन्त्री भन्दा पनि माथि सुपर प्रधानमन्त्री भएर उहाँले फुर्ति प्रस्तुत गर्नुभएको थियो, आज किन सुस्त छ ? किन बालकोट र बालुवाटारको दौड व्यापक बढेको छ ? राष्ट्रपति यहाँ चाहिएको होइन, रबर स्ट्याम्प राष्ट्रपति चाहिएको छ । आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति चाहिएको छ । आवश्यकता परे सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको छ । त्यस्तो राष्ट्रपतिको प्रतिवादमा कांग्रेस उत्रिँदै गर्दा कांग्रेसले ढोक्सा थापेको भनेर मानिन्छ भने हामी त्यो ढोक्सा राम्रोसँग थाप्न तयार छौँ ।’

साथै उनले तत्कालिन ओली नेतृत्वको सरकारले गरेको संसद विघटन कायरता भएको उल्लेख गर्दै अहिले उक्त कायरता छोप्न अध्यक्ष ओली बहादुरी प्रदर्शनको कोशिसमा रहेको आरोप लगाए ।

उनले भने, ‘संसद विघटनको महिमा गान भएको हामीले यही सदनमा सुन्यौं । वास्तवमा संसद विघटन कायरता थियो । कायरतालाई छोप्न बहादुरी प्रदर्शन गर्ने कोशिस गरिएको छ । म चुनौती दिन चाहन्छु, अब कायरता दोहोरिन दिइने छैन ।’