२१ बैशाख २०८१, शुक्रबार

उमेरले हाफ सेन्चुरी पार गरेको ६ वर्ष पुगिसक्दा पनि व्यवसायिक फुटबलमा मिउरा

Kazu Miura

जब कुनै पनि फुटबलरको उमेर ३० वर्ष नाघ्छ, उनीहरूको गति सुस्त हुन थाल्छ । धेरै खेलाडीले ३० देखि ३५ वर्षको बीचमा संन्यास लिन्छन् । तर जापानका काजुयोसी मिउराको अघि उमेर पनि पराजित भयो । उनले ५६ वर्षको उमेरमा पोर्चुगिच क्लबसँग सम्झौता गरेका छन् ।

किङ काजु उपनामले परिचित मिउराले २६ फेब्रुअरीमा आफ्नो ५६औँ जन्म दिन मनाउँदै छन् । हाफ सेन्चुरी पार गरेको ६ वर्ष पुगिसक्दा पनि उनको व्यावसायिक फुटबल करियरले विश्राम लिएको छैन । स्ट्राइकर मिउरा जे लिग टोली योकोहामा एफसीबाट लोनमा पोर्चुगिच क्लब ओलिभेरेन्समा गएका हुन् । उनको व्यावसायिक फुटबलको यो ३८औँ सिजन हो ।

मिउराले १९८६ मा ब्राजिलियन क्लब सान्तोष क्लबबाट करियर सुरु गरेका थिए । त्यो समयमा जापानमा व्यावसायिक लिग सुरु भएकै थिएन । जापानसहित ब्राजिल, क्रोएसिया, अस्ट्रेलिया र इटालीबाट खेलिसकेका मिउराको पोर्चुगल छैटौँ देश हो । पोर्चुगिच क्लबसँगको सहकार्यपछि मिउराले प्रतिक्रिया दिँदै भने, ‘यो मेरा लागि नयाँ ठाउँ भए पनि म फुटबल खेलका लागि जस्तो चिनिन्छु त्यो देखाउन मेहनत गर्नेछु ।’

गत वर्ष मिउराले ६० वर्षको उमेरसम्म खेल्ने योजना रहेको बताएका थिए । २०१७ मा मिउरा जापानको व्यावसायिक लिगमा गोल गर्ने सबैभन्दा पाको उमेरका खेलाडी बनेका थिए । त्यति बेला उनी ५० वर्ष १४ दिनका थिए ।

उनी कति पुराना खेलाडी हुन् त ?

उनले १९८६ मा डेब्यू गर्दा लियोनल मेसी जन्मिएकै थिएनन् । जापानबाट पहिलो पटक खेल्दा इस्ट जर्मनी, सोभियत संघ, चेकास्लोभाकिया, युगोस्लाभाकिया अस्तित्वमा थिए । इङ्लिस प्रिमियर लिग, जे लिग च्याम्पियन्स लिग किङ काजुले खेल्न थालेपछि मात्र सुरु भएका हुन् । उनीभन्दा पछि आएका जिनेदिन जिदानलगायत धेरै खेलाडीले खेल जीवनबाट संन्यास लिइसकेका छन् ।

१९९३ मा जापानमा जे लिग लन्च गर्दा मिउरा लिगको फेस थिए । देशमा सर्वाधिक लोकप्रिय मिउराले राष्ट्रिय टिमबाट ८९ क्याप जित्दै ५५ गोल गरेका छन् । १९९२ मा एसियन कप जितेका मिउराले अन्तिम पटक जापानका लागि सन् २००० मा खेलेका थिए ।

    सम्बन्धित समाचार...