८ बैशाख २०८१, शनिबार

नेपालमा उपभोग्य वस्तु महंगिने, बेरोजगारी बढ्ने विश्व बैंकको प्रक्षेपण

latest world economic outlook growth projections

विश्वका आर्थिक अध्ययन गर्ने संस्थाहरुले सन् २०२३ मा विश्वभर आर्थिक मन्दी आउने प्रक्षेपण गरेका छन ।

विश्वभर अस्वभाविक ढंगले बढेको महंगी, बैंकको ब्याजदर वृद्धि र आपूर्ति श्रृङ्खलामा आएको अवरोधले यसलाई संकेत गरेको छ। विश्वमा मन्दी आए नेपाली अर्थतन्त्रले पनि ठूलो समस्या ब्यर्होनुपर्ने हुन्छ । महंगी र बेरोजगारी दर उच्च रुपमा बढ्नुका साथै निर्यात, वैदेशिक लगानी र बैदेशिक सहयोग समेत घट्ने छ ।

गत मंगलबार आइएमएफले वर्ल्ड इकोनोमिक आउटलुक अपडेट सार्वजनिक गर्दै सन् २०२३ मा विश्वको आर्थिक वृद्धि २ दशमलव ९ प्रतिशत रहने प्रक्षेपण गर्‍यो । त्यसको केही दिन अघि विश्व बैंकले त त्यो भन्दा पनि कम १ दशमलव ७ प्रतिशतको प्रक्षेपण गरेको थियो ।

यो प्रक्षेपण पछिल्लो तीन दशकमा देखिएको तेस्रो ठूलो गिरावट हो । नेपालको हकमा भने आइएमएफले ५ र विश्व बैंकले ५ दशमलव १ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेका छन्। प्रक्षेपण अनुसार यो वर्ष विश्वका ठूला अर्थतन्त्र भएका देश मन्दीमा जाने जनाएका छन् । त्यसबाट नेपालको आर्थिक वृद्धि घट्नुका साथै बस्तु तथा सेवाको मूल्य उच्च रुपमा बढ्ने र बेरोजगारी दर समेत बढ्न सक्ने अनुमान छ ।

विश्वभरी नै बैंक ब्याजदर र मूल्यवृद्धि अस्वभाविक ढंगले बढेको छ । बैंक ब्याजदर ७ प्रतिशतभन्दा माथि छ । अमेरिका र युरोपेली देशमा महंगीले विगत ४० वर्ष यताको रेकर्ड नै तोडेको छ। नेपालमा पनि कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुगेको छ। महंगी पनि पछिल्लो ६ वर्षयताकै सबैभन्दा धेरै ८ प्रतिशत छ ।

बैंकबाट लिएको ऋण तिर्न नसकेर कालोसूचीमा पर्ने ऋणीको संख्या निरन्तर बढ्दै गएको छ । चालू आर्थिक वर्षको साढे ६ महिनामै १३ हजार २२६ ऋणी कालोसूचीमा परेका छन् । यसले नेपालमा पनि आर्थिक मन्दीको संकेत देखिइसकेको जानकार बताउँछन् ।

छिमेकी मुलुक भारतले त खाद्य सुरक्षालाई मध्यनजर गर्दै गहूँ, चामल लगायतका बस्तुहरुको निर्यातमा कडाई गर्न थालिसकेको छ। त्यसैको प्रभाव स्वरुप अहिले नेपाली बजारमा मैदा र आटाको अभाव हुन थालेको छ । संकट गहिरिदै जाँदा भारतसहितका देशले निर्यातमा कडाई गर्न सक्ने र नेपाली अर्थतन्त्र थप संकटमा जान सक्ने भएकाले अहिलेदेखि नै तयारी थाल्न सरकारलाई विज्ञहरुको सुझाव छ ।

उसै त कोरोना महामारी पछि तंग्रिन नसकेको अर्थतन्त्र मन्दीपछि थप जर्जर हुने देखिन्छ । तसर्थ यसबाट बच्न सरकारले रोजगारीका अवसर बढाउने, फजुल खर्च नियन्त्रण गर्ने, बिलासी बस्तुहरुको आयतमा कडाइ गर्ने, उच्च मूल्य भएका बस्तुको निर्यात बढाउने र योजनावद्ध लगानीलाई प्रोत्साहन गर्न आवश्यक छ ।

    सम्बन्धित समाचार...