८ बैशाख २०८१, शनिबार

के निर्णय गर्ला दुई दिनको अल्टिमेटम दिएको रास्वपाले ?

rabi
फाइल फोटो

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय गुमाएपछि पुन: सोही मन्त्रालयमा दाबा गर्यो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रालय नदिने बताएपछि स्वतन्त्र पार्टीले सत्ता समीकरणबारे निर्णय लिने भन्दै दुई दिनको समय तोकेको छ । अब, स्वतन्त्र पार्टीले के निर्णय गर्ला ?

सर्वोच्च अदालतको फैसलाले रवि लामिछानेको नागरिकता अवैध ठहर गरेपछि सांसद पद मात्र गुमेन, गृहमन्त्रालय पनि गुम्यो । त्यसको दुई दिनपछि अर्थात् माघ १५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर उहाँले पुनः नेपालको नागरिकता लिनुभयो। लगत्तै सत्तागठबन्धनमा हलचल आयो ।

स्वतन्त्र पार्टी नागरिकता लिएलगत्तै सभापति लामिछाने पुनः गृहमन्त्री बन्ने तयारीमा हुनुहुन्थ्यो । सभापति लामिछानेले गृहमन्त्रीमा पुनःनियुक्तिका लागि प्रधानमन्त्री प्रचण्डलाई भेटेरै आग्रह मात्र गर्नुभएन, गृहमन्त्री नबनाए सरकार छाड्नेसम्मको चेतावनी नै दिनुभयो । आफ्नो माग प्रचण्डले इन्कार गरेपछि लामिछाने मुख्य सत्ताघटक एमाले अध्यक्ष केपी शर्मा ओली र राजेन्द्र लिङ्देनमार्फत गृहमन्त्रालय फर्काउन प्रयासरत् हुनुहुन्छ । तर, दोहोरो नागरिकताको विषय उठेको र सर्वोच्चको पूर्णपाठ नआएको भन्दै प्रधानमन्त्री दाहाल लामिछानेलाई गृहमन्त्री बनाउन तयार हुनुभएन ।

गृहमन्त्रालय नपाउने भएपछि लामिछाने रन्थनिनुभएको छ । उहाँले बिहीबार सामाजिक सञ्जालमा ‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यु होइन’ लेख्नुभयो ।

लामिछानेको यस्तो अभिव्यक्तिपछि धेरेको आकलन थियो, स्वतन्त्र पार्टीले लगत्तै बस्ने बैठकबाट सरकार छाड्ने निर्णय लिनेछ । तर, बैठकपछि उसले सत्ताघटकका दलहरुले ततकाल निर्णय नगर्न भनेको भन्दै दुई दिन कुर्ने निर्णय गर्यो ।

रास्वपाले मौनता तोड्नका लागि आफैले तोकेको म्याद शनिबार सकिँदैछ । तर, सत्तारुढ दलभित्र रास्वपाको अल्टिमेटमलाई लिएर संवाद भएको छैन । ओलीले पूर्णपाठ पर्खन नपर्ने बताएपनि प्रधानमन्त्री त्यसका लागि तयार छैनन् । यस्तो अवस्थामा स्वतन्त्र पार्टी सरकारमै रहने वा बाहिरिनेमा कुनै निर्णयमा पुग्न सकेको छैन ।

राहदानीको विवादमा तानिएका गैरसांसद लामिछाने आफै किन गृहमन्त्री हुन चाहनुहुन्छ रु रास्वपा गृहमन्त्रालय नपाए पनि सरकारमै बस्छ वा सरकार छाड्ने घुर्की मात्र लगाएर चुप बस्छ रु रास्वपा आफुले दिएको अल्टिमेटममा माग सम्बोधन नभए सरकार छोड्ने निर्णय लिन्छ वा चिसै पानीले नुहाएर सरकारमा टाँस्सिरहन्छन् ? अब स्वतन्त्र पार्टीले केही निर्णय गर्छ वा गर्दैन, थाहा हुनेछ ।