१४ फाल्गुन २०८०, सोमबार

यो तरल राजनीतिक अवस्था कहिलेसम्म रहने हो, यसै भन्न सक्ने अवस्था छैन : माधव नेपाल

madhav nepal 1

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

हामी २०७८ भदौ २ गते निर्वाचन आयोगमा पार्टी दर्ता गर्न गएका थियौँ । भदौ ९ मा हामीले पार्टीको कानुनी मान्यता प्राप्त गरेका थियौँ । हाम्रो विद्रोह जायज, न्यायोचित र उपयुक्त थियो । कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन यो अत्यन्तै जायज थियो भन्ने कुरा आजसम्मको घटनाक्रमले पुष्टि गरेको छ ।

२०७२ सालको असोजमा संविधान जारी भयो । यो संविधानप्रति हामी बफादार हुनुपर्छ । २०७९ मा दोस्रो निर्वाचन भयो । २०७४ मा तत्कालीन नेकपाले झन्डै बहुमत प्राप्त गरेको थियो । माओवादी र एमालेले चुनावी तालमेल गरेर झन्डै दुई तिहाइको हैसियत बनाएको थियो । पछि पार्टी एकता भएपछि केपी ओली र प्रचण्ड पार्टी अध्यक्ष बन्नुभयो । यी दुई नेतालगायत हाम्रो टिमले देशमा नयाँ उत्साह ल्याएको थियो । हामी प्रत्येक कुराको साक्षी छौँ । त्यो पार्टीमा कसरी व्यक्तिवाद हाबी भयो ? आफूलाई पार्टीभन्दा माथि ठान्ने, वादविवाद र बहरबाट उम्किन चाहने । नीति र र कुनै पनि विषयवस्तुको विषयमा कमिटी भित्र बसेर छलफल गर्ने यी सबै प्रक्रियाहरू अवरुद्ध भए ।

कमिटीबाट भाग्ने, बैठक मै नआउने र आफूखुसी निर्णय गर्ने, त्यो निर्णयलाई सबैले मान्नुपर्ने, त्यो स्थिति सिर्जना भयो । हुँदा–हुँदा भएको सहमति पनि तोडेर जाने । हिजो म एउटा पुरानो भिडियो हेर्दै थिएँ । त्यो प्रचण्ड बालेको भिडियो रहेछ । उहाँले त्यसमा भन्नुभएको थियो– बैठकमा जान्छु त बस्ने कुर्सी नै छैन । दुई अध्यक्षका लागि दुई कुर्सी सधैँ हुने त्यो दिन त एउटा कुर्सी मात्र छ एउटा छैन ।

‘मेरो कुर्सी कसैले ताक्यो भने भाँचिदिन्छु’ केपी ओलीको ब्रह्म वाक्य । साँच्चै कुर्सी भाँच्ने काम सुरु भयो । हुँदा–हुँदा संसद् नै भाँच्ने काम भयो । पार्टीको बैठक बसिरहेको छ । कार्यकारी अध्यक्षको कुर्सी खाली छ । नजिकैको निवासमा केपी ओली प्रधानमन्त्रीको हैसियतमा विराजमान छन् । बैठकमा घण्टौँ कुर्दा पनि केपी ओली आउँदैनन् । अनि त्यो बैठकले समाचार सुन्छ कि २०७७ को पुस ५ मा प्रतिनिधिसभा भंग भयो ।

त्यस बेला पार्टीले अध्यक्षको कदमको आलोचना गर्नुपर्थ्यो कि पर्दैन थियो ? स्पष्टीकरण सोध्नुपर्थ्यो कि पर्दैन थियो । जवाफ नआए कारबाही गर्नुपर्थ्यो कि पर्दैन थियो ?

अझ मैले त ‘इस्यू’ नै उठाएको छैन । एमसीसीको विषय, भारतीय अधिकारीहरूसँगको अनुचित भेटघाटको विषय, सरकारी कामको योजनाको तर्जुमाको विषय होस् । यी ‘इस्यू’ले भ्रष्टीकरणअघि बढेको देखाउँथ्यो ।

दक्षिणपन्थी अवसरवादमा केपी ओली फस्दै गइरहेका थिए । उनमा रहेको व्यक्तिवादले टाउको उठाउँदै गइरहेको थियो । मैमत्तपन बढ्दै गएको थियो । सारै सानो चित्त, गुटवाद देखा परेको थियो । आफूसँग असहमतलाई कुनै ठाउँमा बस्न नदिने प्रवृत्ति देखा पर्न लाग्यो ।

यी सबैका लागि हामीले अन्तिम समयसम्म पनि कोसिस गर्यौं । आन्दोलन र अदालतबाट प्रतिनिधिसभा पुनः स्थापना भएपछिका घटना क्रममा म धेरै जान चाहँदिनँ । अन्तिमसम्म हाम्रो दश जना कमरेड लागी पर्नु भयो, पार लागेन । त्यसपछि हामीले विद्रोह गर्यौं ।

त्यो पार्टीको तत्कालीन महासचिव घनश्याम भूसाल केही दिन अघि हाम्रो पार्टी प्रवेश गर्नुभयो । उहाँले संघर्ष गर्नुभयो । बस्ने नसक्ने अवस्था भयो । अरू नेता पनि उकुस मुकुसमा बस्नुपर्ने अवस्था भयो । एमालेसँग विभिन्न तहमा जोडिएका नेताहरू हामीसँग निरन्तर संम्वादमा हुनुहुन्छ । कोही प्रवेश गर्दै हुनुहुन्छ ।

गठबन्धन राष्ट्रपति चुनावसम्म जान्छ कि !

यो चुनावको परिणाम सार्वजनिक भए पछि नयाँ शक्ति सन्तुलन देखापर्यो । हामी पुरानै शक्ति सन्तुलन हुन्छ भन्नेमा थियौँ । पहिल्यै शेरबहादुर देउवा र प्रचण्डबीच प्रचण्डलाई पहिलो कार्यकाल दिने सहमति भएको रहेछ ।

आज कांग्रेसका साथीहरूसँग भेट भयो । उहाँहरूले मलाई नयाँ नयाँ कुरा सुनाउनुभयो । किन पहिले प्रचण्डलाई पहिला प्रधानमन्त्री दिने सहमति भयो सुनाउनुभयो । त्यसपछि एमालेका नेताले शेरबहादुरलाई ढुक्क हुनुहोस् हस्ताक्षरसहितको कागज दिन्छौँ, राष्ट्रपतिसमक्ष पुर्याइदिन्छौं तपाईँ नै प्रधानमन्त्री हो भनेछन् ।

प्रचण्डलाई कुनै हालतमा दिन्नौँ भनेपछि देउवा ढुक्क भएको, हस्ताक्षरको कागज दिएर प्रचण्डलाई खबर गरेको, प्रचण्डले शेरबहादुरले धोका दिए भनेर यता आएपछि प्रधानमन्त्री बनेको । प्रचण्डलाई कहिलेसम्म थेग्ने हो थाहा छैन । राष्ट्रपतिको चुनावसम्म प्रचण्डलाई थेग्ने स्थिति बन्ला । त्यो भन्दा पहिले नै हामीले देखिसकेका छौँ खटपट सुरु भइसक्यो । यो तरल राजनीतिक अवस्था कहिलेसम्म रहने हो, यसै भन्न सक्ने अवस्था छैन ।