२० बैशाख २०८१, बिहीबार

माओवादी पदाधिकारी बैठक आज पनि, राष्ट्रपति र गृहमन्त्रीबारे छलफल हुने

maoist meetaing

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दैछ । पार्टी मुख्यालय पेरिसडाँडामा मध्याह्न १२ बजे बैठक बस्ने छ ।

बैठकमा राष्ट्रपति, गृहमन्त्री र भोलि (बुधबार) बस्ने स्थायी समिति बैठकको एजेन्डाबारे छलफल हुने छ ।

सोमबारदेखि सुरु भएको पदाधिकारी बैठकमा सरकारको कामको समीक्षाका साथै समसामयीक विषयमा छलफल भएको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

यसअघि हिजोको पदाधिकारी बैठकले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको थियो ।

निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन घोषणा गरिसकेको छ । यस्तै उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ गते गर्ने निर्णय गरेको छ ।

निर्वाचन मितिसमेत तय भइसकेको अवस्थामा माओवादीले राष्ट्रपतिबारे छलफल गर्न लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सहमतिबाट राष्ट्रिपति चयनमा जोड दिँदै आएका छन् । सत्ता साझेदार ठूलो दल नेकपा एमालेले भने सरकार गठनकै बेला राष्ट्रपति आफूले पाउने सहमति भएको दाबी गर्दै आएको छ । तर प्रधानमन्त्री दाहाल भने आफूलाई चुनौती नदिने व्यक्तिलाई राष्ट्रपति बनाउन चाहिरहेका छन् ।

सत्ता गठबन्धनभित्र राष्ट्रपतिको विषयले खटपट सुरु भएको विलेश्लेषणसमेत हुन थालेको छ । यद्यपि, नेताहरुले यसलाई अस्वीरका गर्दै सहमतिमै राष्ट्रपतिको टुंगो लाग्ने दाबी गर्दै आएका छन् ।

राष्ट्रपतिमा राष्ट्रिय सहमतिका लागि जोड दिँदै आएका प्रधानमन्त्री दाहाल कांग्रेससँग मिल्ने हुन् कि भनेर एमाले सशंकित बनेको छ ।

यस्तै, नागरिकता विवादमा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि उनले उपप्रधानमन्त्री तथा गृहमन्त्रीको पदसमेत गुमाएका थिए ।

हाल गृहमन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहालले आफू मातहत नै राखेका छन् । लामिछानेले पुनः नागरिकता लिएसँगै फेरि गृहमन्त्रीमा दाबी गर्दै आएका छन् ।

    सम्बन्धित समाचार...